कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू

माघ १५,२०८०

-आस्था न्यूज

माघ १५, २०८० काठमाडौं । 
कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सोमबारबाट सुरू भएको छ ।
 
मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झौता गरेअनुसार उक्त उमेर समूहका बालबालिकाको निःशुल्क उपचार सुरू गरिएको हो ।
 
स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट सोमबार अ‍ौपचारिक रूपमा बालबालिकाहरूको निःशुल्क उपचार सेवा सुरू गरेकी हुन् ।
 
‘प्रदेश सरकारको निःशुल्क उपचार सेवा कोशी प्रदेशमा स्थायी बसोबास गर्नेले मात्रै पाउने छन्,’ डा. देवकोटाले भनिन्, ‘निःशुल्क उपचार सेवा लिन बालबालिका बिरामी हुने बित्तिकै नजिकको स्वास्थ्य चौकीमा उपचार गराउन लग्ने तर त्यहाँ नभएपछि नजिकको अस्पतालमा रेफर गर्ने र अस्पतालमा पनि उपचार सम्भव नभएको अवस्थामा मात्रै निःशुल्क विशेषज्ञ सेवा लिन रेफरसहित यी तोकिएको अस्पतालमा उपचारका लागि आउनुपर्छ ।’
 
निःशुल्क आकस्मिक सेवा लिनुपर्ने बिरामी बालबालिकाको स्थायी बसोबास भएको खुल्ने सरकारी कागजात हुनुपर्ने सचिव देवकोटाले बताइन् ।
 
निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले तोकेबमोजिमको औषधिसमेत प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएको देवकोटाले बताइन् ।
 
झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रिक्त रहेको बालरोग विशेषज्ञ चिकित्सक नियुक्त गरेर बालबालिकालाई निःशुल्क उपचार सेवा सुरू गरेको उनले जानकारी दिइन् ।
 
प्रदेशमा मानवीय विकासका लागि चालू आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत ल्याइएको बजेटमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको योजना अब कार्यान्वयनमा आएको प्रदेश सरकारले जनाएको छ ।