Trending :
 

रेडियो नेपाल र नेपाल टेलिभिजन मर्ज गरौंः रेखा शर्मा

माघ १५,२०८०

-आस्था न्यूज

माघ १५, २०८० काठमाडौं । 
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेडियो नेपाल र  नेपाल टेलिभिजनलाई मर्ज गर्नुपर्ने दोहोर्याएकी छिन् ।
 
उनले रेडियो र टिभी लोकतान्त्रिक मूल्य, मान्यता र मर्मलाई आत्मसाथ गर्दै स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी सञ्चारमाध्यमका रुपमा संचालन गर्नुपर्ने पनि बताइन् । 
 
सिंहदरबारमा मंगलबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री शर्माले सरकारी सञ्चारमाध्यमलाई कुनै राजनीतिक दलको भजन गाउने भाँडो नबनाउन सुझाव दिइन् । उनले सञ्चारमाध्यम सरकार र जनतालाई जोड्ने माध्यम बन्नुपर्ने बताइन् । 
 
उनले भनिन्, ‘सरकारी सञ्चारमाध्यम कुनैबेला राजनीतिक दलको भजन गाउने भाँडो थिए । अहिले पनि त्यस्तो देखिन्छ । हामी आइसकेपछि पटक पटक भन्यौं सरकारी सञ्चारमाध्यम जनताप्रति उत्तरदायी हुनुपर्छ । सरकार र जनतालाई जोड्ने माध्यम बन्नुपर्छ नकि राजनीतिक दलको भजन गाँउने भाँडो । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्न छलफल गरौं । जनताको बुझाई भन्दा फरक तरिकाले लैजान गम्भीर छलफल गरौं ।’
 
मन्त्री शर्माले राष्ट्रिय आमसञ्चार नीतिमा राष्ट्रिय प्रसारण सेवा रुपान्तरण गरि लोकतान्त्रिक मूल्य, मान्यता र मर्मलाई आत्मसाथ गर्दै स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी रुपमा सन्चालन गरिने व्यवस्था रहेको उल्लेख गर्दै यसलाई पनि अहिलेको आवश्यकता र उद्देश्यका आधामा आवश्यक परिमार्जन गर्न आवश्यक रहेको बताइन् । 
 
उनले भनिन्,‘२०७३ सालमा राष्ट्रिय आमसञ्चार नीतिमा राष्ट्रिय प्रसारण सेवा रुपान्तरण गरि लोकतान्त्रिक मूल्य, मान्यता र मर्मलाई आत्मसाथ गर्दै स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी रुपमा सन्चालन गरिने व्यवस्था रहेको छ । त्यो व्यवस्था अनुसार खास गरेर हाम्रा सरकारी मिडियाहरुलाई पनि कसरी जनउत्तरदायी बनाउन सकिन्छ, कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने अनुरुप १५ असार २०७७ मा तत्कालिन सञ्चारमन्त्री युवराज खतिवडाले विधेयक पेस गर्नुभएको रहेछ । त्यो राष्ट्रिय सभाबाट पारित भएर यसपटक प्रतिनिधि सभामा लिएर आयौं । नौं जना सांसदको आधारमा ७६ पटक शंसोधन परेको छ । यो तीनवटै कागजातलाई आधार बनाएर छलफल गर्नुपर्छ ।’ 
 
मन्त्री शर्माले माघ २२ लाई संसदको अधिवेशन आह्वान भइसकेको स्मरण गराउँदै समितिमा दफादार छलफलकै क्रममा रहेका विधेयकहरु छलफल सकेर संसदमा प्रतिवेदन पेस गर्न आग्रह गरिन् । मन्त्री शर्माले यसअघि पनि नेपाल टेलिभिजन र रेडियो नेपाललाई मर्ज गर्नुपर्ने आवाज उठाउँदै आएकी छन् ।