प्रधानमन्त्री कपः विभागीय क्लब त्रिभुवन आर्मीले सुदूरपश्चिमलाई ९७ रनले हरायो
-आस्था न्यूज
माघ १५, २०८० काठमाडौं ।
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय क्लब त्रिभुवन आर्मीले सुदूरपश्चिममाथि ९७ रनको जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गर्दै आर्मी दोस्रो स्थानमा उक्लिएको छ ।
आमीले ८ खेलबाट १२ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको पुलिस ७ खेलबाट शतप्रतिशत जितका साथ १४ अंक बनाएको छ ।
सुदूपश्चिम प्रदेशको भने यो तेस्रो हार हो । सदूरपश्चिम ७ खेलमा ८ अंकसहित छैटौं स्थानमा रहेको छ । तालिकाको शीर्ष २ मा हुने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
पहिला ब्याटिङ गरेको आर्मीले ४८.३ ओभरमा सवै विकेट गुमाएर २६२ रन बनाएको थियो ।
आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रनको अर्धशतकीय पारि खेले ।
उनले ६७ बलमा ३ छक्का र १० चौकाको मद्दतले ७५ रन बनाएका हुन् । यसैगर विवेक यादवले ३६ रन बनाउँदा सोमपाल कामीले ३१ रन जोडे ।
यस्तै, सन्तोष कार्कीले ३० रनको योगदान गर्दा सहाव आलमको ब्याटबाट २१ रन बन्यो ।
सुदूरपश्चिम प्रदेशका भोजराज भट्टले ६ विकेट लिँदा नरेश साउदले ३ विकेट हात पारे । यसैगरी विकास अग्रीले एक विकेट लिए ।
जवाफी लक्ष्य पच्छ्याएको सुदूरपश्चिम प्रदेश ४०.१ ओभरमा सवै विकेट गुमाएर १६५ रनमा रोकियो ।
सुदूरपश्चिमका लागि किरण ढगुन्नाले ६८ रनको उत्कृष्ट पारि खेल्दा शेर मल्लले २४ रन जोडे । यसैगरी नरेन भट्टले १८ रन बनाउँदा गजेन्द्र बोहोराले १२ तथा नरेश जोशीले १३ रन बनाए । प्रकाश पाण्डेको ब्याटबाट ११ रन बन्यो ।
सुदूरपश्चिमलाई रोक्ने क्रममा जितेन्द्र मुखियाले सर्वाधिक ५ विकेट लिँदा सोमपाल कामीले २ विकेट हात पारे । यसैगरी सहाव आलम, कुशल मल्ल र बसिर अहमदले एक एक विकेट लिए ।