आहारारा गोल्डकपः मनाङलाई सडन डेथमा हराउँदै जावलाखेल सेमिफाइनलमा प्रवेश
-आस्था न्यूज
माघ १५, २०८० काठमाडौं ।
मनाङलाई सडन डेथमा हराउँदै जावलाखेल युथ क्लब आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
टाइब्रेकरमा मनाङका लागि रणदिप पौडेलले प्रहार गरेको नवौं पेनाल्टी जाउलाखेलका गोलरक्षक युनेश चौधरीले बचाए र टिमलाई सेमिफाइनल पुर्याए ।
यसअघि निर्धारित ९० मिनेटमा दुवै टिमबाट १(१ गोल भएपछि थपिएको अतिरिक्त समयमा कुनै गोल भएन र खेल टाइब्रेकरमा पुगेको थियो ।
खेलमा जावलाखेलले पहिले अग्रता लिएको थियो । खेलको ५५ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
थपलियाले सुदीप श्रेष्ठबाट प्राप्त पासलाई पेनाल्टी बक्समा हल्का अघि बढाउँदै प्रहार गरेको बल गोलमा परिणत भएको थियो । मनाङका किपर जियारथ शेखले बल बचाउने कुनै अवसर नै पाएनन् ।
तर, खेलको अन्तिममा आएर मनाङका राजेश परियारले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले ८९ औं मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
खेलको अन्तिम मिनेटमा परियारले बायाँ साइडबाट सिधै विपक्षीको बक्समा क्रस गरेका थिए । तर, बल सिधैं पोस्टभित्र छिर्दै गोलमा परिणत भयो ।
त्यसअघि पनि दुवै टिमले पटकपटक आफूले पाएको अवसर सदुपयोग गर्न सकेनन् । खेलको ७२ औं मिनेटमा निराजन धामीले परियारको पासमा बक्सको एजबाट हानेको ओभरहेड किक क्रसबारमा लागेर फर्किएको थियो ।