वरिष्ठ प्रहरी अधिकृतदेखि कनिष्ट जवानलाई सुधार्न आफू तयारः डिआइजी खापुङ
-आस्था न्यूज
माघ १५, २०८० काठमाडौं ।
नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डिआइजी चन्द्रकुवेर खापुङले आचरणविपरीत काम गर्नेहरुमाथि कारबाही हुने बताएका छन् ।
प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेपछि सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका वरिष्ठ प्रहरी अधिकृतदेखि कनिष्ट प्रहरी जवानलाई सुधार्न आफू तयार रहेको डिआइजी खापुङले बताए । त्यस क्रममा उनले आफूमा पनि सुधार गर्नुपर्ने भए त्यो गर्न तयार गरेको बताए ।
कसैले आचरणविपरीत काम गरेर दोषी ठहरिएमा कानुन बमोजिम कारवाही गर्ने उनको प्रतिबद्धता छ ।
कोशी प्रदेशमा सीमान्त क्षेत्रबाट हुने गरेका चोरी तस्करी, लागूऔषध ओसारपसार र हुण्डी कारोबारलाई कडाइका साथ नियन्त्रण गर्ने डिआइजी खापुङले बताए ।
कोशी प्रदेशको तेह्रथुम घर भएका डिआइजी खापुङले यसअघि २०५६ सालमा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, नगर प्रहरी कार्यालय विराटनगरमा प्रहरी निरीक्षकका रुपमा काम गरिसकेका छन् ।
सेवामा प्रवेश गरेको २३ वर्षपछि उनले डिआइजीको रुपमा कोशी प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेका हुन् ।