Trending :
 

जनसंख्या नीति परिमार्जन गर्ने सरकारको तयारी

माघ १५,२०८०

-आस्था न्यूज

माघ १५, २०८० काठमाडौं । 
सरकारले जनसंख्या नीति परिमार्जनको तयारी गरेको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाइँले यसको जानकारी दिएकी हुन् ।
 
चालु आर्थिक वर्षभित्रै नीतिलाई परिमार्जन गरिने उनले बताइन । जनसंख्याको हालको अवस्था अनुसार नीतिमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारी सम्बन्धमा भएको छलफलमा बोल्दै उनले नीति परिमार्जनका लागि आधिकारिक रुपमा समिति गठन गरिसकेकाले मस्यौदा तयार गरेर स्वीकृतिका लागि अघि बढाइने भनाइ राखिन् ।  
 
उनले भनिन्, ‘जनसंख्या नीतिलाई परिमार्जन गर्नका लागि आधिकारिक रुपमा एउटा उच्च स्तरको निर्देशक समिति गठन गरेको छौं, अर्को प्राविधिक समिति गठन गरेको छौं र काम अगाडि बढाइसकेका छौं ।
 
दबाब पनि छ यही आर्थिक वर्षभित्र र सके एक महिना भित्रमा गर्नुपर्ने छ । सबै निकायको सुझाव लिएर यही आर्थिक वर्षभित्र तयार गरेर स्वीकृतिमा लाने चरणमा हामी योजना बनाएर अगाडि बढेका छौं ।’
 
लक्ष्य प्राप्त गर्न छुट्टै खालको मोडालिटी अपनाएर अगाडि बढ्नुपर्ने उनले बताइन । उनले भनिन्, ‘हामीले सन् २०३० मा जुन लक्ष्य प्राप्ति गर्नुपर्ने हो, त्यो गर्नका लागि अलिकति छुट्टै खालको मोडालिटी अपनाएर अगाडि बढेनौं भने हामी त्यो लक्ष्य प्राप्त गर्न सक्दैनौं ।’