इजरायल-हमास युद्धः बन्धकहरू छिट्टै रिहा हुनेमा कतारका प्रधानमन्त्रीको विश्वास
-आस्था न्यूज
माघ १६, २०८० काठमाडौं ।
कतारका प्रधानमन्त्रीले इजरायल र हमासबीचको युद्धका कारण बनेका बन्धकहरुलाई छिट्टै रिहा गर्ने र युद्धविरामका लागि सकारात्मक समाधान निस्कने विश्वास व्यक्त गरेका छन् । इजरायलले युद्ध सुरु गरेपछि हमासले सयौं यहुदीहरूलाई बन्धक बनाएको बताएको छ । अझै पनि १०० भन्दा बढी इजरायली नागरिक हमासको हिरासतमा छन् ।
अमेरिका भ्रमणमा रहेका कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले वासिङ्टनमा आयोजित एट्लान्टिक काउन्सिललाई सम्बोधनका क्रममा उनले बाँकी बन्धकहरुको रिहाइ र गाजामा स्थायी युद्धविरामका लागि समाधान खोज्न वार्ता भइरहेको बताएका हुन् ।
‘बन्धकहरूको रिहाइ र स्थायी युद्धविरामका लागि केही आधारहरू तयार गरेका छौं, जुन दुवै पक्षलाई स्वीकार्य हुने आशा राख्छौं । तर, बैठकमा प्रस्तावित रूपरेखा हमासलाई बुझाउन बाँकी छ । यद्यपि, हामीलाई थाहा छैन कि हमासले यसबारे कस्तो प्रतिक्रिया दिनेछ ।’ कतारका प्रधानमन्त्रीको भनाई थियो ।
गत वर्ष अक्टोबर ७ मा इजरायलमा भएको आतंकवादी हमलामा संयुक्त राष्ट्रसंघीय निकायका कर्मचारीको संलग्नता रहेको रिपोर्ट आएपछि गाजाका जनतालाई दिइने अन्तर्राष्ट्रिय सहायता खतरामा परेको छ ।
इजरायलले संयुक्त राष्ट्रसंघलाई पठाएको प्रतिवेदनमा गाजामा युएनआरडब्ल्यूएका लागि काम गर्ने १९० भन्दा बढी कर्मचारी आतङ्ककारी समूहसँग सम्बन्धित रहेको दाबी गरिएको थियो ।