काठमाडौं महानगर भन्छ- ‘न्यूरोडमा भन्दा धेरै पार्किङस्थल निःशुल्क दिएका छौँ’
-आस्था न्यूज
माघ १६, २०८० काठमाडौं ।
न्यूरोड क्षेत्रमा सडकमा पार्किङ निषेध गरेको काठमाडौं महानगरपालिकाले विकल्पमा २२०० मोटर साइकल र चार पाङ्ग्रे सवारी साधनको पार्किङ गर्ने ठाउँ उपलब्ध गराएको दाबी गरेको छ ।
व्यवसायीले विकल्प दिनुपर्ने भनिरहेका बेला महानगरपालिकाले यस्तो दाबी गरेको हो । महानगरले २ हजार २ सय वटा २ पाङ्ग्रे र ७ सय वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराएको जनाएको छ । यो संख्या साविक न्यूरोडको कालोपत्रे सडकमा गरिने सवारी पार्किङ्को संख्याभन्दा धेरै हो ।
अहिले धरहराको पार्किङ भवनमा उपलब्ध गराएको स्थानमा मात्र पनि १ हजार ५ सय २ पाङ्ग्रे सवारी साधन अट्न सक्छन् । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘यससँगै काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा ७ सय वटा २ पाङ्ग्रे र ३ सय वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान उपलब्ध गराइएको छ । यो निःशुल्क पार्किङ् सेवा हो । यसबाहेक नयाँ सडकमा पार्किङ प्रयोजन देखाएर निर्माण भएका धेरै व्यापारिक भवनहरु छन् । ताम्राकार कम्प्लेक्स, आरबी कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, पशुपति प्लाजा, विशाल बजारलगायत भवनको भूमिगत तलामा पार्किङ गर्न सकिन्छ ।’
उनले महानगरपालिकाले पार्किङका लागि विकल्प नै नदिएको आरोप सत्य नभएको बताए ।
महानगरका सडक सुरक्षा विज्ञ प्रशान्त खरेलका अनुसार न्युरोडको कालोपत्रे सडकमा १ हजार ३ सय वटा २ पाङ्ग्रे र ३० वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्थ्यो । जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको कालोपत्रे सडकमा ३ सयवटा २ पाङ्ग्रे र ५ वटा ४ पाङ्ग्रेक, प्युखामा १५० वटा २ पाङ्ग्रे र ६ वटा ४ पाङ्ग्रे, खिचापोखरीमा १५० वटा २ पाङ्ग्रे र १५ वटा ४ पाङ्ग्रे, वीर अस्पताल महावौद्धमा १५० वटा २ पाङ्ग्रे सवारी पार्किङ् गर्ने क्षमता थियो । त्यसैअनुरुप पार्किङ हुने गरेको थियो ।
‘महानगरपालिकाले अहिले उपलब्ध गराएको स्थानमा मात्र पार्किङ गर्दा पनि नयाँ सडकको कालोपत्रे सडकलाई सहज आवागमनका लागि प्रयोग गर्न सकिन्छ । सडक किनारामा पैदल यात्रीले सहजतापूर्वक हिँड्न पाउँछन्,’ खरेल भन्छन् ।