Trending :
 

दक्षिण एसिया जलवायु परिवर्तनको उच्च जोखिममा

माघ १६,२०८०

-आस्था न्यूज

माघ १६, २०८० लन्डन ।
जलवायु परिवर्तनसम्बन्धी अनुसन्धाता तथा विज्ञहरूले  विश्वका अन्य देशहरूको तुलनामा दक्षिण एसियाली देशहरू जलवायु परिवर्तनको उच्च जोखिममा रहेको औँल्याएका छन् ।
 
बेलायतबाट सञ्चालित साउथ एसिया टाइम न्यूजपोर्टलको पाँचौँ वार्षिकोत्सवको अवसरमा  शनिवार आयोजित ‘क्लाइमेट चेन्ज एन्ड साउथ  एसियाः रिजनल च्यालेन्ज इन अ ग्लोबल क्राइसिस’ विषयक कार्यक्रममा बोल्दै वक्ताहरूले जलवायु अनुकूलताका लागि चाँडै नै सोच्नुपर्ने अवस्था आइसकेको बताए ।
 
वन तथा वातावरण मन्त्रालयका सहसचिव डा.महेश्वर ढकालले जलवायु परिवर्तनलाई १९९२ सम्म वातावरणीय रूपमा बुझ्ने गरिए पनि अब कूटनीतिक, राजनीतिक, आर्थिक समस्याको रूपमा बुझ्न थालिएको बताए ।
 
भारत र चीनले गर्ने कार्बन उत्सर्जनका कारण दक्षिण एसिया नै प्रभावित भएको बताउँदै उनले भने,‘दक्षिण एसियामा कार्बन उत्सर्जनका हिसाबले भारत र चीनको चेपुवामा नेपाल छ ।  भारत र चीनमा आर्थिक विकास तीव्र गतिमा भइरहेकाले उत्सर्जनबाट नेपाल बच्न सक्दैन । उत्सर्जन घटाउन पहल गर्नै पर्छ  ।’
 
उनले जलवायु अनुकुलतका साथै नेपालले पानी, खाद्य सुरक्षा, गरिबी, जनसङ्ख्या बुद्धिलगायतका कोणबाट सोच्नुपर्ने बताए ।
 
हाल इटालीको  मिलानोमा बसेर अनुसन्धान गरिरहेकी जलवायु सम्बन्धी अनुसन्धानकर्ता डा.शोभा पौडेलले  राष्ट्रिय नीतिहरू अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा केन्द्रित रहने गरेको उल्लेख गर्दै कोप सम्मेलनले निर्धारण गरेका मुद्दालाई प्राथमिकता दिनुपर्ने सुझाव दिइन ।
 
शून्य कार्बन उत्सर्जन , जलवायुमैत्री लगानी लगायतका उपायबाट  प्रभावित समुदायको अवस्था बुझ्नुपर्ने औँल्याइन । उनले नेपालको कृषि प्रणालीमा जलवायु परिवर्तनको असरका बारेमा थप अध्ययन गर्नुपर्ने बताउँदै  सरकारले किसानलाई जलवायुमैत्री खेती गर्न प्रेरित गर्नेखालको नीति ल्याउनु पर्ने बताइन्  ।
 
 बीबीसी विश्व सेवाका विश्व वातावरण संवाददाता नवीनसिंह खड्काले पुरै दक्षिण एसिया जलवायु परिवर्तनको उच्च  जोखिममा रहेको बताए । एसियामा मान्छेको जीवन र रोजगारी साथै भौगोलिक हिसाबले फरक फरक समस्या देखिएको उनले बताए ।
 
‘मरुभूमिमा र हिमालको समस्या फरक छ । सगरमाथा बेसक्याम्पमा पानी धेरै पर्नु त्यसको असर हो । दक्षिण एसियामा सुरक्षित कुनै ठाउँ छैनन् । २०३० सम्म ३० प्रतिशत कार्बन उत्सर्जन घटाउनुपर्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्छ,’ उनले भने । संसार मै तेस्रो सबै भन्दा धेरै  कार्बन उत्सर्जन गर्ने मुलुक चिन र तेस्रो बढी उत्सर्जन गर्ने भारतको बीचमा रहेकाले नेपाल उच्च जोखिममा रहेको उनले बताए  ।
 
बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले दक्षिण एसियाको गरिबी निवारण र आर्थिक विकासमा धेरै काम गर्नुपर्ने औँल्याउँदै उच्च सहरीकरण र गरिबीको समस्या घटाउनुपर्ने र ऊर्जा, आर्थिक, वातावरणबिचमा सामञ्जस्ययता हुनुपर्ने बताए ।
 
उक्त अवसरमा कार्यक्रममा नेपाली दूतावास बेलायतकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्य, नेपाल  पत्रकार महासङ्घ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्याल, उपाध्यक्ष दिनेश परियार लगायतले  शुभकामना दिएका  थिए ।
 
कार्यक्रमको सुरुमा उपस्थित सहभागी तथा वक्ताहरूलाई स्वागत गर्दै एसिया टाइमका प्रधान सम्पादक भगीरथ योगीले पर्यावरण सम्बन्धी कार्यक्रमको महत्त्व र उद्देश्य प्रस्ट पारेका थिए ।
 
कार्यक्रमको अन्तमा साउथ एसिया टायमका निर्देशक तथा सम्पादक जगन कार्कीले पाँचौँ वर्षसम्म आइपुग्दा साथ र सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिएका थिए।