Trending :
 

पल्सर स्पोर्टस् अवार्ड विजेतालाई ७ लाख बराबरको बिमा

माघ १६,२०८०

-आस्था न्यूज

माघ १६, २०८० काठमाडौं ।
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २० औं संस्करणका विजेताहरुलाई बिमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले ७ लाख रुपैंयाँ बराबरको खेलकुद बिमा पोलिसी प्रदान गर्ने भएको छ ।
 
यहि माघ २८ गते होटल याक एण्ड यतिमा आयोजना हुने अवार्ड समारोहमा प्रदान गरिने ९ मध्ये एसियन स्पोर्टस जर्नालिस्ट अवार्डबाहेक आठ विधाका विजेतालाई युनाइटेड अजोडले एक वर्षका लागि उक्त पोलिसी प्रदान गर्ने भएको हो ।
 
युनाइटेड अजोड पल्सर स्पोर्टस अवार्डको यस वर्षको इन्स्योरेन्स पार्टनरको रुपमा पनि आबद्ध छ । बिमा सुविधा दिनेबारे नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र युनाइटेड अजोड इन्स्योरेन्स प्रालिबीच सम्झौता भएको छ ।
 
सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले हस्ताक्षर गरेका छन् । 
 
सम्झौतापछि सीइओ रावलले नेपालमा भर्खरै सुरु भएको खेलकुद बिमा पोलिसीलाई संस्थागत गर्न यो सहकार्यले सहयोग पुग्ने विश्वास लिएको बताए ।
 
त्यस्तै, मञ्चका अध्यक्ष सुवेदीले नेपालकै प्रतिष्ठित बिमा कम्पनीसँग खेलकुद अवार्ड कार्यक्रम जोडिन पाउँदा खेलाडीहरु थप लाभान्वित हुने बताए ।   
 
पल्सर स्पोर्ट्स अवार्ड २०७९ मा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि सार्वजनिक हुन बाँकी छ । त्यस बाहेक पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट विधाको घोषणा माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ ।
 
अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् । 
 
यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले जनही बजाज पल्सर मोटरसाइकल पाउनेछन् । पुरस्कारका दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर पाउने छन् ।