प्रधानमन्त्री कपः एपीएफमाथि कर्णालीको रोमाञ्चक जित
-आस्था न्यूज
माघ १७, २०८० काठमाडौं ।
ओपनर आसिफ शेखको शतकका बावजुद प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लब कर्णाली प्रदेशसँग पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा २१ रनले पराजित भएसँगै एपीएफ शीर्ष ४ मा पर्न असफल भएको छ ।
यो हारले एपीएफले थ्री डे एलिट ट्रफी खेल्न नपाउने भएको छ । त्रिभुवन आर्मी, नेपाल पुलिस, मधेश प्रदेश र बागमती प्रदेशले शीर्ष ४ मा रहँदै एलिट ट्रफी खेल्ने भएका छन् ।
कर्णालीले राष्ट्रिय प्रतियोगितामा पहिलो पटक विभागीय टोलीलाई हराएको हो ।
जितको लागि २०७ रनको विजयी लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १८५ रनमा अल आउट भयो । एपीएफलाई जितको लागि ४२ बलमा २२ रन चाहिएको थियो । तीव्र गतिका बलर प्रकाश जैसीले ४ बलमा तीन विकेट लिँदै रोमाञ्चक जित दिलाए ।
तेस्रो बलमा चन्दन रामलाई १ रनमा क्याच आउट गराए । अर्को बलमा मौशम ढकाल बोल्ड भए । अन्तिम बलमा रमेश कुर्मीलाई बोल्ड गर्दै ऐतिहासिक जित दिलाए ।