खेलाडी पलायन रोक्न कार्यक्रम ल्याउँछौंः खेलकुद मन्त्री लिम्बु
-आस्था न्यूज
माघ १७, २०८० काठमाडौं ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने बताएका छन् । उनले आर्थिक वर्ष ०८१-८२ को बजेटमा खेलकुद क्षेत्रलाई माथि लैजान सक्ने गरी निर्माण गर्न आफूहरु गम्भीर भएर लागेको जानकारी दिए ।
बुधबार सिंहदरबारमा आयोजित राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रममा उनले खेलकुद क्षेत्रको विकास र प्रबर्द्धनका लागि बजेट नै प्राथमिक साधन भएकाले बजेटको सिलिङ बढाउनमै अहिले मन्त्रालय लागेको बताए ।
मन्त्री लिम्बुले भने, ‘यो मन्त्रालयको बजेटको सिलिङ् बढाउनुपर्छ भनेर राष्ट्रिय योजना आयोग र सरोकारवाला विभिन्न निकायमा मन्त्रालयको तर्फबाट पहल भइरहेको छ । जबसम्म यसको सिलिङ् बढ्दैन्, हामी थप कार्यक्रमहरु गर्नसक्ने अवस्थामा रहदैँनौ ।’
उनले अर्थतन्त्रलाई ध्यानमा राखेर नयाँ बजेट ०८१–८२ को लागि सैद्धान्तिक छलफलहरु गरिरहेको र त्यसमा बजेटको सिलिङ् बढाउने विषय मुख्य प्राथमिकतामा राखेको उल्लेख गरे ।
‘खेल क्षेत्रलाई प्रबद्र्धन गर्ने र विगतको जुन पीडा र कठिनाई हामीले अनुभूति गरेका छौं,त्यसबाट नेपालको खेल क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ भन्ने विषयमा हामी गम्भीरतापूर्वक गृहकाय गरिरहेका छौ,’ मन्त्री लिम्बुले भने ।
मन्त्री लिम्बुले खेलाडीलाई प्राथमिकतामा राखेर व्यवसाय गर्न चहाने खेलाडीका लागि स्वरोजगार कोषको माध्यमबाट दिँदै आएको सस्तो व्यवसाय कर्जालाई आगामी वर्षबाट दुई लाखबाट बढाएर ५ लाख रुपैयाँसम्म पुर्याउने गरी कार्य गरिरहेको बताए ।
नेपालमा रहेका सम्भावना बोकेका क्षेत्रलाई कसरी खेलमा पनि समेट्न सकिन्छ र युवा खेलाडी पलायन भैरहेको अवस्थामा कसरी देशमै बसेर काम गर्न सक्ने परिस्थिति बनाउन सकिन्छ भन्ने पक्षमा सरकार रहेको मन्त्री लिम्बुको धारणा छ ।
उनले आफूहरुले खेलाडी पलायनलाई रोक्न देशमै खेलाडीलाई व्यवसायी बनाउन चाहेको पनि बताए ।
‘हामी खेलाडीलाई उच्च प्राथमिकतामा राख्छौं’ उनले भने, ‘उनीहरुलाई देशमै उद्यमी बनाउन चाहन्छौं । यो मन्त्रालयले त्यो कार्यक्रम ल्याउने क्रममा छ ।’
कार्यक्रममा कबड्डी, टेवल टेनिस, कराते, पारा तेक्वान्दोका खेलाडी तथा प्रशिक्षकलाई पनि सम्मानित गरिएको थियो ।
सम्मानित हुने खेलाडीमा टेबल टेनिसमा काठमाडौंकी नविता श्रेष्ठ र शुभश्री श्रेष्ठ, भक्तपुरका शिव सुन्दर गोथे छन् । टेवल टेनिसका निर्णायक कन्चनपुरका तेजेन्द्र सिंह महरा पनि सम्मानित भएका छन् ।
कबड्डीतर्फ खेलाडी मोरङकी मेनुकाकुमारी राजवंशी र कबड्डीकै प्रशिक्षक पार्वती राई सम्मानित भए । यस्तै, कराँतेमा धादिङकी एरिका गुरुङ,पारा तेक्वान्दोमा पलेशा गोवर्धन,र फुटबलका फिजियोथेरापिष्ट आविस्कार पुडासैनी पनि पुरस्कृत भए ।
कार्यक्रममा खेलकुद प्रोत्साहन पत्रकारिता पुरस्कारबाट सातै प्रदेशबाट ८ जनालाई सम्मान गरिएको छ ।
खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट कोशी प्रदेशको मोरङ जिल्लाबाट हरिप्रसाद कोइराला, मधेश प्रदेशका तिवारी यादव, बागमती प्रदेशबाट गोविन्दराज नेपाल सम्मानित भएका छन् ।
यस्तै, गण्डकी प्रदेशबाट रोहितराज पराजुली, लुम्बिनी प्रदेशकारिखिराम जिसी कर्णाली प्रदेशबाट नन्दराम जैशी र सुदुरपश्चिम प्रदेशबाट नवराज पनेरु, महिलातर्फ रजनीकुमारी योगीले पत्रकारिता प्रोत्साहन पुरस्कार पाए ।
त्यसैगरी, धादिङ सिद्धलेक गाउँपालिका–२ का पत्रकारगोविन्द रेग्मी खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।