मकवानपुर गोल्डकप फुटबलः एनआरटीको विजयी सुरुआत
-आस्था न्यूज
माघ १७, २०८० काठमाडौं ।
न्युरोड फुटबल क्लब (एनआरटी)ले सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रंगशालामा सुरु भएको गोल्डकप हिमालयन शेर्पा क्लबलाई ३–० ले हराउँदै न्युरोड फुटबल क्लब (एनआरटी)ले जितबाट यात्रा सुरु गरेको हो ।
न्युरोड फुटबल क्लब (एनआरटी)का लाग सरोज तामाङ,रोहन खड्की र सुमित श्रेष्ठले १–१ गोल गरे ।
२९औँ मिनेटमा सरोज तामाङको गोलबाट एनआरटीले अग्रता लिएको थियो । सरोजले २९औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा एनआरटीले १ –० को अग्रता बनाएको हो ।
दोस्रो हाफमा पनि एनआरटीकै तर्फबाट ५६ औँ मिनेटमा रोहन खड्कीले दोस्रो गोल तथा ७५ औँ मिनेटमा सुमित श्रेष्ठले पुनह अर्को गोल गर्दै ३(० को अन्तरले हिमालयन सेर्पालाई पराजित गरेका थिए ।
माघ २७ गतेसम्म हुने मकवानपुर गोल्डकपको छैटौं संस्करणमा १२ टोलीको सहभागिता छ ।
प्रतियोगिता अन्तरगत भोली बिहिबार मछिन्द्र फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।
मकवानपुरका स्थानीय तहहरूको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।