Trending :
 

आहा-रारा गोल्डकपः दोश्रो सेमीफाइनलमा आर्मी र चर्चब्वाइज खेल्दै

माघ १८,२०८०

-आस्था न्यूज

माघ १८, २०८० काठमाडौं ।
पोखरामा जारी आहा-रारा पोखरा गोल्डकपको दोश्रो सेमीफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेड भीड्दैछन् । खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।
आजको खेल जित्ने टिमले शनिबार हुने २३ औं आहा–रारा पोखरा गोल्डकपको उपाधि भिडन्त खेल्नेछ । 
 
पहिलो सेमीफाइनलमा जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार क्लब बुधबारै फाइनल प्रवेश गरिसकेको छ । आहा–रारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन् ।
 
प्रतियोगितामा आर्मी अहिलेसम्म उपाधिविहीन छ भने गतवर्षबाट मात्रै प्रतियोगितामा समेटिएको चर्च ब्वाइज पहिलो वर्ष नै सेमीफाइनलसम्म खेलेको थियो । 
 
यसपटक आर्मीले भरत खवासको कप्तानीमा खेलाडीहरु मैदान उतारेको छ । आर्मीको टिममा राष्ट्रिय टिमबाट खेलेका जिलेप्सीजंग कार्की, दिनेश हेन्जङ, विमल पाण्डे, विकेश कुथुलगायत छन् । 
 
चर्चब्वाइजको कप्तानी अनन्त तामाङले सम्हालिरहेका छन् । टिममा राष्ट्रिय टिमबाटै खेलिसकेका कमल श्रेष्ठ, नेपाल सुपर लिग (एनएसल)मा उत्कृष्ट प्रदर्शन गरेका रोहन कार्की, सन्तोष खत्री, सञ्जित राई, राजीव लोप्चन, कृपाकान्त चौधरी, समीर तामाङलगायत खेलाडी छन् । 
 
प्रतियोगितामा यो वर्ष दुई विदेशीसहित १२ टिम सहभागी थिए भने विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ जित्नेछन् । गतवर्ष संकटा क्लब काठमाडौंले उपाधि जितेको थियो ।