हिउँदे अधिवेशनमा पहिलो चरणमा ६३ विधेयक पेस गर्ने सरकारको तयारी
-आस्था न्यूज
माघ १८, २०८० काठमाडौं ।
संघीय संसद्को हिउँदे अधिवेशनमा सरकारले पहिलो चरणमा ६३ विधेयक पेस गर्ने तयारी गरेको छ । कानुन मन्त्रालयका अनुसार १९ वटा मन्त्रालयका तर्फबाट अधिवेशनका लागि ६३ वटा विधेयक पहिलो प्राथमिकतामा राखिएको छ ।
पहिलो प्राथमिकतामा राखिएको विधेयकको विवरण कानुन मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष प्रस्तुत गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले प्राथमिकताक्रममा केही परिमार्जन गर्न निर्देशन दिएका छन् ।
हिउँदे अधिवेशनका लागि कानुन मन्त्रालयले मन्त्रालयहरूसँग बनाउनुपर्ने कानुनहरूको अवधारणापत्र माग गरेको थियो । मन्त्रालयबाट कुल एक सय १७ विषयमा कानुन बनाउने तथा संशोधन गर्ने प्रस्ताव आएकोमा हिउँदे अधिवेशनको पहिलो प्राथमिकतामा ६३ वटा राखिएको हो ।
प्रधानमन्त्रीको निर्देशनपछि पहिलो प्राथमिकतामा फेरबदलका लागि कानुन मन्त्रालयले गृहकार्य थालेको छ । ‘यसमा हामी परिमार्जन गर्दै छौँ,’ कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले भने ।
उनका अनुसार पहिलो प्राथमिकतामा रहेर २३ देखि २५ वटा नयाँ कानुनको मस्यौदा संसद्मा पेस गरिनेछ । बाँकी ऐन संशोधनको रूपमा विधेयक आउनेछन् । मन्त्रालयले दोस्रो प्राथमिकतामा ३९ र तेस्रो प्राथमिकतामा १५ वटा कानुनलाई राखेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।