उपयुक्त प्रदर्शनीस्थल बनाउन सरकार तयार
-आस्था न्यूज
माघ १८, २०८० काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले मेला र प्रदर्शनीको लागि उपयुक्त प्रदर्शनीस्थल बनाउन सरकार गम्भीर रहेको बताएका छन् ।
नवौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० को समुदघाटन कार्यक्रममा उनले उपलब्धीमूलक प्रदर्शनीहरुलाई सरकारले सधैँ सहयोग गर्ने भन्दै सरकारले यसमा साधनस्रोतले सकेसम्म सहयोग गर्ने बताए ।
उनले भने, ‘सरकारले मेला, प्रदर्शनीहरुलाई सधैँ सहयोग गर्छ । यसको आयोजना नीजि क्षेत्रको संघ संस्थाले आफ्नै प्रयासबाट गरिरहनु भएको छ । सरकारले पनि आफ्नो साधन स्रोतले सकेसम्म उपयुक्त प्रदर्शनीस्थल भएन भन्ने कुरा आएको छ । त्यतातर्फ सरकारको ध्यान गएको छ ।’
यस्तै, उनले लगानी, उपभोग र विकल्प सबै हिसाबले यस्तो प्रदर्शनीहरु महत्वपूर्ण भएको भन्दै यसले देशमा लगानीको अवसर पनि सिर्जना गर्ने बताए ।
उनले भने, ‘विदेशी कम्पनीहरु जसले यहाँ निर्यात गर्छ, त्यसको ठाँउमा यही नै कारखाना लगाउने भन्ने पाटोतर्फ पनि प्रेरित गर्न यो प्रदर्शनीले सहयोग गर्छ । यही कारखाना स्थापना गर्ने हो भने आयात गर्न लाग्ने खर्च कम हुन्छ । लगानी, उपभोग र विकल्पको दृष्टिकोणबाट सबै हिसाबले यस्तो प्रदर्शनीहरु हुनुपर्छ । यसले उपभोगको तह बढाउनुसँगै लगानीको अवसर पनि जुटाउन सक्छ ।’