Trending :
 

सुरक्षण मुद्रण विधेयक अघि बढाउन संचारमन्त्रीको जोड

माघ १८,२०८०

-आस्था न्यूज

माघ १८, २०८० काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण विधेयक पास भएर देशभित्रै छपाई गर्न सकिए देशको ठूलो हिस्सा राजश्व बाहिर जानबाट रोक्न सकिने बताएकी छिन् । 
 
बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सुरक्षाको हिसाबले महत्वपूर्ण रहेको सुरक्षण मुद्रणसम्बन्धी विधेयकलाई पास गर्नुपर्ने बताइन् । 
 
उनले भनिन्, ‘सुरक्षण मुद्रण देशभित्रै गर्नुपर्छ, सुरक्षण मुद्रण जस्तो महत्वपूर्ण विषयमा काम गर्दै आएको सुरक्षण मुद्रण केन्द्र खारेजी नयाँ कानुन आएपछि होला । सबैकुरा कानुन अनुसार अगाडि बढ्छ ।
 
सुरक्षण मुद्रणका कामहरु महत्वपूर्ण कामहरु पनि हुन् । यसलाई देशभित्रै छपाई गर्न थाल्यौं भने देशको ठूलो हिस्सा राजश्व बाहिर जानबाट बच्छ । यसअन्तर्गत नागरिकताको प्रमाण पत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, भिसा, स्टिकर, हुलाक टिकट, सवारी चालक अनुमति पत्र, जग्गा धनी प्रमाण पत्रलगायत सरकारले राजपत्रमा मुद्रणसम्बन्धी तोकेर यो विधेयक अगाडी बढाएको छ । विधेयकलाई पारित गर्दा उपयुक्त हुन्छ, प्रक्रियागत रुपमा अगाडि बढाऔं ।’
 
मुद्रण सुरक्षण सम्बन्धी विधेयक राष्ट्रिय सभा र प्रतिनिधि सभामा धेरै पटक संशोधन गरिसकेकाले थप धेरै मेहेनत गर्नुनपर्ने उनको भनाई थियो । 
 
त्यस्तै, समितिका सभापति भानुभक्त जोशीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति छनौट प्रकियामा देखिएको विवादका सन्दर्भमा शिक्षामन्त्री र मन्त्रालयका सचिवहरुसँग आउँदो माघ २२ गते बैठक बसेर ध्यानाकर्षण गराउने बताए । 
 
सभापति जोशीले सरकारी कार्यालयका वेभसाइटहरु ह्याक हुने विषयमा समेत सम्बन्धित निकायहरुलाई छलफलका लागि बोलाउने बताए । 
 
उनले त्रिभुवन विश्वविद्यालय, प्रधानमन्त्रीको कार्यालय तथा सञ्चार मन्त्रालयललाई निर्देशनका विषयमा छलफलका लागि बोलाएर आवश्यक निर्देशन दिनुपर्ने बताए ।