Trending :
 

देशका धेरैजसो ठाउँमा हल्का वर्षा, हिमपातले उच्च पहाडी र हिमाली क्षेत्रका किसान खुसी

माघ १८,२०८०

-आस्था न्युज

माघ १८, २०८० काठमाडौं । 
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा हल्का वर्षा र हिमपात भएको छ । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, हुम्ला, जुम्ला, डोटी, डडेल्धुरा, बैतडी, बाजुरा, अछाम, सल्यान, रोल्पा, रुकुम, प्युठान, गुल्मी, बाग्लुङ लगायतका पश्चिमी जिल्लामा पानी परेको हो । ती क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
 
वर्षा र हिमपातले किसान खुसी भएका छन् । धेरैजसो ठाउँमा हिउँदको यो पहिलो वर्षा भएको हो । यसले हिउँदे बालीलाई राहत पुग्ने किसानको भनाइ छ । ढिलो गरी भए पनि हिमपात तथा वर्षा हुँदा हिउँदे बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका जुम्लाको तिला गाउँपालिमा१ का स्थानीयवासी पार्वती बुढाले जानकारी दिनुभयो । माघ दोस्रो हप्तासम्म पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए ।
 
हिमपात र वर्षाले ठाउँठाउँमा सडक यातायात भने प्रभावित भएको छ । हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बाग्लुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको बाक्लो हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । पूर्वी रुकुमबाट काठमाण्डौ, पोखरा लगायतका ठाउँमा जाने गाडी ठप्प भएको निसीखोला गाउँपालिका–६ का नीरज घर्ती मगरले जानकारी दिनुभयो । बाग्लुङको बुर्तिबाङबाट रुकुम, जाजरकोटलगायतका ठाउँमा पुग्ने गाडी निसीखोलामा अड्किएका छन् । हिउँ हटाउन समय लाग्ने भएकाले अलपत्र परेका यात्रुलाई व्यवस्थापन गरिने निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताउनुभयो ।
 
यस्तै हुम्ला, जुम्ला, बाजुरा लगायतका जिल्लामा हवाई उडान हुन सकेको छैन । हुम्लामा यो वर्ष तेस्रो पटक हिमपात भएको छ । काठमाण्डौ उपत्यकामा पनि मौसम बदली भएको छ । एकरदुई ठाउँमा छिटफुट पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखा मौसमविद् गंगा नगरकोटीका अनुसार आज राति बाग्मती र कोशीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना छ । तर पूर्वमा आज पानी पर्ने सम्भावना छैन ।
 
यसैबीच हिमपातका कारण जाजरकोट भूकम्पबाट पीडित भएकाहरू थप समस्यामा परेका छन् । कात्तिक १७ गतेको भूकम्पले घर भत्काएपछि जाजरकोट, रुकुम लगायतका जिल्लाका केही भूकम्प प्रभावित अहिले पनि अस्थायी आवास र त्रिपालमै छन् । आठबीसकोट नगरपालिका–१४ की भूकम्प पीडित देवकली पुन मगरले हिमपात र पानीले चिसो बढेको बताउनुभयो । विशेषगरी चिसोबाट बालबच्चा र ज्येष्ठ नागरिक समस्यामा परेका छन् । त्रिपाल र टहरामा बसेका पीडितलाई थप जोखिम छ ।
 
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार पश्चिमी वायुको प्रभाव आज रातिसम्म रहने र फेरि पानी पार्न सक्ने अर्को प्रणाली भित्रिने सम्भावना रहेको छ । मध्य तथा पूर्वी तराईका थोरै ठाउँमा लागिरहेको हुस्सु अब कम हुने पनि उहाँको भनाइ छ ।