नेपाल स्काउटको माघ २७ गते हुने भनिएको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ। प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि युवा तथा खेलकुद मन्त्रालयले निर्वाचन स्थगित गरेको हो।
मन्त्रालयले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र उक्त मुद्दाको निरुपण भएपछि मात्र नयाँ निर्वाचन सम्बन्धी कार्यक्रम सुरु हुने जनाएको छ।
खेलकुद मन्त्रालयका प्रवक्ता शिवप्रसाद रेग्मीका अनुसार हाल निर्वाचन सम्बन्धी सबै गतिविधि स्थगन गर्न निदेशन दिइएको र पछि आवश्यक निर्णय हुने बताए।
स्काउटको अधिवेशन रोकिएकोप्रति अध्यक्ष ओली रुष्ट
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको आदेश विपरित गएर सरकारले नेपाल स्काउटको अधिवेशन रोक्न प्रधानमन्त्रीले हस्तक्षेप गरेकोप्रति आपत्ति जनाएका छन् । उनले स्काउटमा गठबन्धनले हार्छ भनेरै प्रधानमन्त्री अधिवेशन स्थगित गराएको दाबी गरे ।
पार्टीनिकट बैंक,बीमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्रिय समितिको सातौं राष्ट्रिय महाधिवेशन उदघाटन समारोहमा अध्यक्ष ओलीले प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्न गरेको निर्देशन हस्तक्षेप भएको बताए ।
‘स्काउट एउटा स्वतन्त्र संस्था हो । मानका लागि प्रधानमन्त्रीलाई संरक्षक भनिएको छ। त्यसको विधानमा संरक्षकले निर्देशन दिनसक्ने भनिएको छ । प्रधानमन्त्रीले निर्देशन दिनसक्ने छन् भनेको छ विधानमा । तर निर्देशन दिने भनेको भताभुङ्ग पार्ने भनेको होइन, सकारात्मक काम गर्न निर्देशन दिने हो । हस्तक्षेप गर्नेलाई निर्देशन भनिदैन । विदेशी पाउना आइसके, सबै ठाउँमा अधिवेशनको तयारी भैसक्यो गठबन्धनले नजित्ला जस्तो भयो भनेर रोक्न पाइन्छ ? आजबाट स्काउटको सम्मेलन छ, हिसाब गर्दा गठबन्धनले नजित्ने देखिएर सम्मेलन स्थगित गर्नु भन्न मिल्ला ?’ओलीले प्रश्न गरे ।
अधिवेशनका लागि भनेर स्काउटका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुलाई समेत बोलाइसकेको उल्लेख गर्दै यस्तो अवस्थामा अधिवेशन नगराउँदा नेपालको इज्जतमा असर पार्ने उनले बताए ।
पहिले पनि स्काउट भंग गर्दा अदालतले कामकाज यथावत् गर्न आदेश दिएको स्मरण गर्दै ओलीले अदालतले दिएको आदेश विपरित प्रधानमन्त्रीले गरेको निर्देशन स्वेच्छाचारी भएको भन्दै आपत्ति जनाए ।
‘अधिवेशनलाई भनेर पाउनाहरु आएका छन्, नेपालको इज्जत के हुन्छ ? इज्जत वेइज्जतको केही ख्याल छैन् । कांग्रेसले स्काउटको सम्पत्ति लुटेर हडपेर अहिले पनि खाइरहेको छ । दादागिरी देखाएर, मसल देखाएर खाइराखेको छ । स्काउट राम्ररी चल्न र काम गर्न दिइएको छैन् । सरकारले यसलाई भंग गरेको हो,सम्मानित अदालतले भंग गर्न मिल्दैन काम काज यथावत गर्नु भनेर आदेश दियो । अदालतको कामकाज यथावत गर्न दिनु भन्ने आदेशको विपरित सरकार सम्मेलन स्थगित गर्न आदेश दिन्छ । स्काउटमा प्रधानमन्त्री वा कांग्रेसले कसरी हार्ने हो, मैंले बुझिन ।’
उनले प्रधानमन्त्रीलाई स्काउटको अधिवेशन नरोक्न आफूले सुझाव दिएको उल्लेख गर्दै ओलीको सुझावप्रति दाहालले मिलाएर लैजान खोजेको जवाफ दिएको प्रस्ट्याए ।
ओलीले थपे, ‘मैले आजै प्रधानमन्त्रीजिलाई सोधें, तपार्इंहरु हार्ने भएकै हो ? उहाँले हार्ने होइन अलि मिलाएर लैजाउँ भन्ने कुरा गरेको भन्नुभयो । मिलाएर लैजाऔं भन्या के? रोक्ने आदेश गरेर यस्तो स्वेच्छाचारिता नगर्नुस भनेर मंैले प्रधानमन्त्रीजिलाई सल्लाह दिएको छु । उहाँले के गर्नुहुन्छ थाहा छैन् ।’
ओलीले सरकारले स्काउट मात्रै नभएर रेडक्रस पनि चलाउन नदिएको आरोप लगाए । यस्तै उनले एनआरएनएमा समेत प्रधानमन्त्रीले हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनले कांग्रेसको लागि दुईओटा अध्यक्ष चाहिएकाले एनआरएनएमा तीन अध्यक्षको व्यवस्था गर्न लगाइएको भनाई ओलीको छ ।
उनले गठबन्धन सरकारलाई अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको उल्लेख मात्र गरेनन् गठबन्धन सरकार गैरकानुनी र बेथितिले गर्दा चलेको आरोप लगाए ।