Trending :
 

नयाँ शैली र ढाँचामा मिस मंगोल नेपाल

चैत्र २७,२०७३

-

काठमाडौं, चैत २७

मिस मंगोल नेपाल अब नयाँ शैली र ढाँचामा प्रस्तुत हुने भएको छ ।

राजधानीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मिस मंगोल आयोजनाको १०औं वर्षगाँठ मनाउन नवौं, दसौं र एघारौं संस्करणलाई नयाँ ढाँचामा प्रस्तुत गरिन लागेको हो ।

सन् २०१७ मा हुने नवौं संस्करणलाई प्रयोगात्मक / रोमाञ्चकारी , सन् २०१८ मा हुने १०औं संस्करणलाई अन्तर्राष्ट्रिय र सन् २०१९ मा हुने ११औं संस्करण हाइटेक एडिसनका रूपमा आयोजना हुनेछ ।

नेपाली सौन्दर्य प्रतियागिताको खस्कँदो क्रेजलाई उचाइ दिने विश्वासका साथ आयोजना हुने यो सौन्दर्य प्रतियोगीता विदेशमा आयोजना हुनेछ ।

प्रतियोगी छनोट र प्रशिक्षण नेपालमा गरी अन्तिम प्रतिस्पर्धाका लागि अन्तर्राष्ट्रिय मञ्चमा लगिन लागेको हो ।

विजेता छनोटमा यसअघि उत्कृष्ट १५ मा आउन २५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट सो र ५० प्रतिशत फाइनलमा प्रतियोगीको प्रस्तुतिलाई आधार बनाइँदै आएको थियो ।

यस वर्षदेखि प्रतियोगीको एकवर्षे कार्ययोजनालाई पनि आधार बनाइने भएको छ । प्रतियोगितामा समावेश गरिएकामध्ये मिस ट्यालेन्ट र पब्लिक च्वाइस अवार्ड विजेताले सीधै उत्कृष्ट १५ मा प्रवेश पाउनेछन् ।

२०७४ जेठ २७ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने प्रतियोगिताका लागि यस वर्ष काठमाडौं, धरान, बुटवल र पोखरामा अडिसन हुनेछ । घटीमा एसएलसी (एसईई) पास, पाँच फिट वा सोभन्दा बढी उचाइ एवं १७ देखि २६ वर्ष उमेरसमूहका अविवाहित मंगोल (आदिवासी जनजाति) युवतीले प्रतियोगितामा भाग लिन पाउनेछन् ।

त्यसैगरी मिस तामाङ, मिस राई, मिस लिम्बू, मिस नेवाःलगायत आदिवासी जनजातिसँग सम्बन्धित जातीय सौन्दर्य प्रतियोगिताका विजेताले भाग लिन चाहेमा बिना अडिसन सीधै प्रवेश पाउनेछन् । तर मिस मंगोलका लागि तय गरिएका आधार सबैले पूरा गरेको हुनुपर्नेछ ।

प्रतियोगीतामा उत्कृष्ट १५ भित्र छानिएपछि २५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट शो र ५० प्रतिशत फाइनलको प्रस्तुतिका आधारमा बिजेता छानिने छ ।

अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीले कोरियोग्राफर रोजिन शाक्यबाट प्रतियोगिताका बारेमा एकमहिने प्रशिक्षण प्राप्त गर्नेछन् ।

त्यसैगरी पूर्वमिस मंगोल सुम्निमा देवानको नेतृत्वमा एक दर्जनभन्दा बढी कक्षा दिइनेछ । प्रतियोगितामा शीर्ष उपाधिका साथै फस्ट रनरअप, सेकेन्ड रनरअप, मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस पर्सनालिटी, मिस डिस्सिप्लिन, मिस फ्रेन्ड्सिप, मिस लिडरसिपजस्ता अवार्ड समावेश गरिएका छन् ।

मिस मंगोल नेपालकी विजेतालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिँदै आएको छ ।