Trending :
 

सीआईबीको पत्रकार सम्मेलनः ३ महिनाको अनुसन्धानपछि अरुण चौधरी लगायतलाई पक्राउ

माघ १९,२०८०

-आस्था न्यूज

माघ १९, २०८० काठमाडौं । 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) तीन महिना लामो अनुसन्धानपछि मात्र बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा तीन जनालाई पक्राउ गरेको बताएको छ ।
 
सीआईबीले बिहीबार व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हठात पक्राउ गरेको भन्दै नेपाल उद्योग परिसंघले विरोध गरेको थियो ।
 
तर सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गरेर लामो अनुसन्धानपछि मात्र पक्राउ गरिएको स्पष्टीकरण दिएको छ । सीआईबीका अनुसार थापाले १० भदौ २०४३ मा अरुण चौधरी समेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर कम्पनी खोल्न प्रबर्धन सम्झौता भएको थियो ।
 
सम्झौताअनुसार जारी पुँजी ५० लाख रहेको त्यो कम्पनीमा अरुण चौधरी समूहको ५१ प्रतिशत, बाँसबारीको २५ प्रतिशत र सार्वसाधारणको २४ प्रतिशत शेयर हुनेपर्ने हो । तर १२ लाख ५० हजार लगानी गर्नुपर्ने छालाजुत्ताले २६ लाख बढी लगानी गरेको पाइएको छ । चौधरी समूहले ८ लाख मात्र लगानी गर्‍यो भने सर्वसाधरणको शेयर नै खुलाइएन ।
 
सम्झौता अनुसार बाँसबारीको १० रोपनी जग्गा लिएपछि च्याम्पियन फुटवेयर कम्पनी नै बन्द भएको पाइएको सीआईबीले जनाएको छ ।