यू-१९ विश्वकप क्रिकेटः भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य
-आस्था न्यूज
माघ १९, २०८० काठमाडौं ।
सचिन दास र उदय सहारानको शतकमा भारतले आईसीसी यू–१९ विश्वकपमा नेपाललाई २९८ रनको बलियो लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनायो ।
भारतका सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको सानदार शतकीय इनिङ खेले ।
उनी गुल्शन झाको ४८ औं ओभरको चौथो बलमा मिडविकेटमा क्याच आउट हुन पुगेका थिए ।
एक समय १४ ओभरमा ६२-३ को अवस्थामा पुगेको भारतलाई चौथो विकेटका लागि उदय र सचिनले २ सय २ बलमा २ सय १५ रनको दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफल तयार पारेका थिए ।
कप्तान उदय सहारान १०७ बलमा ९ चौकासहित १०० रनमा आउट भए । उदय खेल इनिङ सकिन भन्दा दुई बल अघि सुभाष भण्डारीबाट क्याच आउट भएका थिए । भारतले ओपनर आदर्श सिंहलाई १८ बलमा ४ चौकासहित २१ रनमा गुमाएको थियो ।
त्यसपछि आर्शिन कुलकर्णी १८ र प्रियान्शु मोलिया १९ रनमा आउट भएका थिए । नेपालका गुलशन झाले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६५ रन खर्चेर १ विकेट लिए ।
सुभाष भण्डारीले १० ओभरमा ५५ रन खर्चिए । त्यस्तै दीपेश कँडेलले १० ओभरमा ४६ रन खर्चेका थिए । देव खनालले २ ओभरमा १४ रन खर्चे ।