प्रधानमन्त्री कपः उपाधिको लागि आज पुलिस र आर्मीको प्रतिस्पर्धा
-आस्था न्यूज
माघ २०, २०८० काठमाडौं ।
छैटौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९: १५ मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
पुलिस अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा खेलेको हो । पुलिसले लिगका सबै ९ खेल जितेको थियो । आर्मी ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो । लिग चरणमा आर्मी पुलिससँग भैरहवामा १३ रनले पराजित भएको थियो ।
पुलिसको दीपेन्द्रसिंह ऐरी र आर्मीको विनोद भण्डारीले कप्तानी गर्नेछन् । आर्मीका कप्तान विनोदले यस प्रतियोगितामा दुई शतक हानेका छन् । टीयु मैदान विनोद भण्डारीको लागि लक्की पनि मानिन्छ । विनोद, कुशल मल्ल, भीम सार्की, सोमपाल कामी, जितेन्द्र मुखिया र साहब आलम जस्ता खेलाडी आर्मीमा छन् । भीम र कुशलले ब्याटिङमा जिम्मेवारी लिनुपर्ने हुन्छ ।
यता पुलिसमा दीपेन्द्र, कुशल भुर्तेल, आरिफ शेख, अर्जुन साउद, सागर ढकाल, करण केसी र ललितनारायण राजवंशी लगायतका खेलाडी छन् । २०१७ को प्रधानमन्त्री कप फाइनल वर्षाको कारण पूरा खेल हुन नसकेपछि यी दुवै टोलीले अंक बाँडेका थिए ।
२०१९ मा पुलिस र २०२१ मा आर्मीले उपाधि जितेका थिए । सबै ६ संस्करणमा फाइनल खेल्ने आर्मी एक्लो टोली हो ।