यि हुन् सन् १९९५ मा आजकै दिन अन्तरिक्ष यान उडाउने विश्वकै पहिलो महिला
-आस्था न्यूज
माघ २०, २०८० काठमाडौं ।
सन् १९९५ मा आजकै दिन एलिन कोलिन्सले अन्तरिक्ष यान उडाएर राखेकी थिइन विश्वकै पहिलो महिलाको रेकर्ड
सन् १९९५ मा आजकै दिन (फेब्रुअरी ३) मा पहिलो पटक महिला पाइलटले अन्तरिक्ष यान उडाएकी थिइन् । अमेरिकी अन्तरिक्षयात्री एलिन कोलिन्स अन्तरिक्ष यान उडाउने विश्वकै पहिलो महिला हुन् ।
अमेरिकाको न्युयोर्कमा १९५६ नोभेम्बर १९ मा जन्मिएकी कोलिन्सले किशोरावस्थामै जहाज उडाउन सिकेकी थिइन् । आंशिक समयको जागिरबाट बचाएको पैसाले उनले १९ वर्षको उमेरमा नै जहाज उडाउने प्रशिक्षण लिएकी थिइन् ।
१९७८ मा न्युयोर्क विश्वविद्यालयबाट गणित र अर्थशास्त्रमा स्नातक गरेपछि कोलिन्स अन्य तीन महिलसहित अमेरिकी हवाई सेनाको पाइलट प्रशिक्षणमा सहभागी भएकी थिइन् । एक वर्षपछि उनी अमेरिकी हवाई सेनाको पहिलो महिला प्रशिक्षक बनिन् । त्यसपछि ११ वर्षसम्म उनले आफूलाई उडानसम्बन्धी प्रशिक्षणमा व्यस्त राखिन् ।
१९९० मा एअर फोर्स टेस्ट पाइलट स्कुलबाट स्नातक सकेलगत्तै उनी हवाई सेनाको कर्नेल भएकी थिइन् । उनले स्टानफोर्ड विश्वविद्यालयबाट अपरेसन्स रिसर्चमा एमएस र वेबस्टर विश्वविद्यालयबाट अन्तरिक्ष व्यवस्थापनमा स्नातकोत्तरसमेत गरेकी थिइन् । १९९० मा अन्तरिक्ष यात्राका लागि छनोट भएकी कोलिन्सले १९९५ मा डिक्सभरी यानको उडान भरेकी हुन् ।
अमेरिकी हवाई फौजबाट २००५ सेवानिवृत्त भएकी उनी २००६ मा अमेरिकी अन्तरिक्ष संस्था नासामा काम गरिन् । २००७ मा उनी युनाइटेड सर्भिसेस अटोमोबाइल असोसिएसनमा आबद्ध भएकी थिइन् ।