आइतबार सेयर बजारमा ५.३१ अङ्कको गिरावट, कारोबार पनि घट्यो
-आस्था न्यूज
माघ २१, २०८० काठमाडौं ।
अघिल्लो साताको अन्तिम दुई कारोबार दिनमा ५० अङ्कको गिरावट आएको सेयरबजार आज थप ओरालो लागेको छ ।
बिहीबार ३०.२ अङ्कले घटेर बन्द भएको सेयरबजार आज थप ५.३१ अङ्कले घटेर २०६१.७० विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब १८ करोड ६ लाख ३२ हजार एक सय ३९ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब २१ करोड ६७ लाख २७ हजार दुई सय २१ रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकममा पनि गिरावट भएको हो ।
आज सर्वाधिक कमाउने कम्पनीहरुमा युनिक नेपाल लघुवित्त, मोलुङ हाइड्रो र समाज लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा महिला लघुवित्त र रावा इनर्जी रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।
आज विकास बैंक समूहको उपसूचक सर्वाधिक ०.६६ प्रतिशतले बढ्दा नन लाइफ इन्स्योरेन्स ०.५१ र फाइनान्स उपसूचक ०.४० प्रतिशतले बढे । आज अन्य समूहको उपसूचक सर्वाधिक १.०४ प्रतिशतले घट्दा लाइफ इन्स्योरेन्स समूहको उपसूचक ०.५४ प्रतिशतले र होटल तथा पर्यटन उपसूचक ०.५१ प्रतिशतले घटे ।