झापा गोल्डकपमा महिलालाई सदस्यता शुल्क ५० प्रतिशत छुट
-आस्था न्यूज
माघ २१, २०८० काठमाडौं ।
खेलप्रेमी महिलाहरुलाई लक्षित गर्दै झापा गोल्डकप आयोजक समितिले सदस्यता विस्तारक अभियानलाई अघि बढाएको छ ।
सदस्यता शुल्कमा ५० प्रतिशत छुट गर्दै आयोजक समितिले सदस्य संख्या बढाउने निर्णय गरेको हो ।
झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतका अनुसार महिलाहरुलाई सदस्य बन्न ११ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
खेलप्रेमी महिला दिदीबहिनीहरुलाई पनि झापा गोल्डकपको सदस्य बनाउने उद्देश्यले शुल्कमा ११ हजार रुपैयाँ मात्रै कायम गरिएको उनले बताए । सदस्यता शुल्क २१ हजार रुपैयाँ छ ।
छैटौँ संस्करणको तयारीमा रहेको झापा गोल्डकपको सदस्य संख्या थप गरेर महिला सहभागितालाई प्राथमिकता दिइएको कोषाध्यक्ष केदार गिरीले जानकारी दिए ।
प्रतियोगिताको छैटौँ संस्करण फागुन १९ गतेदेखि २८ गतेसम्म डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुँदैछ ।
यो संस्करणमा कम्तीमा एक सयजना महिला सदस्य संख्या बढाउँदै संस्थालाई थप दर्बिलो बनाउने योजना रहेको अध्यक्ष बस्नेतले बताए ।
यसअघि सदस्यता लिइसकेका सदस्यहरुको नवीकरण कार्य पनि जारी रहेको गोल्डकपको सचिवालयले जनाएको छ ।
सबै सदस्यहरुलाई समयमै सदस्यता नवीकरण गर्न आग्रह गरिएको सचिवालय प्रमुख एवम महासचिव गजेन्द्र पौडेलले जानकारी दिए ।