संसदको हिउँदे अधिवेशनका लागि आवश्यक तयारी पूरा, महत्वपूर्ण विधेयक पास गर्ने सरकारको तयारी
-आस्था न्यूज
माघ २१, २०८० काठमाडौं ।
संघीय संसदको हिउँदे अधिवेशन सोमबार सुरु हुँदैछ ।
संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा दुबैको बैठकको लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ ।
आइतबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकस्थलको अवलोकन गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पुगेर उनले बैठकस्थलको अवलोकन गर्दै तयारीबारे जानकारी लिएका हुन् ।
यसपटक संसदलाई क्यालेन्डरअनुसार सञ्चालन गर्ने तयारी भएको बताए ।
राजनीतिक दलहरुले पनि संसदको हिउँदे अधिवेशनको तयारी गरेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले शनिबार र आइतबार दुई दिन संसदीय दलको बैठक राखेर सांसदहरुलाई प्रशिक्षित गरेको छ ।
नेपाली कांग्रेसले बिहीबार नै संसदीय दलको बैठक राखेर संसदीय समिति समेत हेर्ने गरी सांसदहरुलाई संयोजक नै तोकेर जिम्मेवारी दिएको छ ।
नेकपा माओवादी केन्द्रले सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक बोलाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रस्तुत हुने तयारी लगायतका विषयमा गृहकार्य गर्न र त्यस अनुसार प्रस्तुत हुने रणनीतिका लागि उपसभापतिद्वय स्वर्णिम वाग्ले र डोलप्रसाद अर्याललाई जिम्मेवारी तोकेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतले समेत संसदमा प्रस्तुत हुने रणनीतिका सम्बन्धमा पूर्वतयारी गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा सरकारको कामकारबाहीका केन्द्रित रहेर छलफल र बहस गराउने रणनीति अख्तियार गर्ने भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद अधिवेशनमा सुशासनको मुद्दालाई पहिलो मुद्दा बनाएर प्रस्तुत हुने तयारी गरेको छ । देशमा भ्रष्टाचार बढेको र जनतामा निराशा बढेको एमालेको ठम्याइ छ । सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुन नसकेको कारण देशमा भ्रष्टाचार बढिरहेको भन्दै एमालेले सुशासनको मुद्दालाई प्राथमिकताका साथ उठाउन लागेको हो ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले महत्वपूर्ण विधेयकहरु पास गर्ने आफूहरुको तयारी रहेको बताए । अधिवेशनलाई विधेयक केन्द्रित बनाउने गरी तयारी भएको उनको भनाइ छ ।
सक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, विद्यालय शिक्षा विधेयक, निजामती कर्मचारीसँग सम्बन्धित विधेयकलाई गतिका साथ अगाडि बढाइने उनको भनाइ छ ।
सत्तारुढ दल नेपाली कांग्रेसकी सचेतक सुशीला थिङ अधिवेशनको प्रारम्भमै संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पास गर्न पर्यास गर्ने बताइन् ।
नेपाली काग्रेसका सांसद जीवन परियारले हिउँदे अधिवेशनमा कानुन निर्माणको कामलाई विशेष प्राथमिकता दिइने बताए ।