क्यासिनोहरुले रोयल्टी नदिदा पर्यटन मन्त्रालयको बेरुजु ४ अर्ब २० करोड पुग्यो
-आस्था न्यूज
माघ २१, २०८० काठमाडौं ।
यो आर्थिक वर्षको माघको दोस्रो सातासम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बेरुजु ४ अर्ब २० करोड रुपैयाँ रहेको पाइएको छ । मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा र मन्त्रीस्तरीय विकास समाधान समितिको बैठकमा सहसचिव हेमराज तामाङले उक्त फेहरिस्त पेश गरेका हुन् ।
मन्त्रालयका अनुसार सरकारी र समितितर्फको गरी कूल ४ अर्ब २० करोड रुपैयाँ बेरुजु छ । क्यासिनोहरुले रोयल्टी नदिएका कारण बेरुजु बढेको हो । क्यासिनोबाट मात्रै १ अर्ब २१ करोड रुपैयाँ असुल उपर गर्न बाँकी रहेको तामाङले बताए ।
उक्त रकम असुलका लागि मन्त्रालयले पर्यटन विभाग र विभागले सम्बन्धित क्यासिनोहरुमा पत्रचार गरिसकेको छ । कतिपय बेरुजुहरू सार्वजनिक लेखा समितिबाट छलफल भई टुङ्गो नलागेका कारण फर्छ्यौट हुन बाँकी रहेको तामाङले बताए ।
उनका अनुसार पुरातत्त्व विभाग र पर्यटन विभाग अन्तर्गतका कार्यालयहरु प्रदेश मन्त्रालय र स्थानीय तहमा हस्तान्तरण भएका कार्यालयहरूको ५ करोड ८७ लाख रुपैयाँ बेरुजु सक्कल स्रेस्ता नहुँदा फर्छ्यौट हुन नसकेको हो ।
उनले भने, ‘हामीले महालेखापरीक्षकसँग बसेर सम्बन्धित कार्यालयका लेखा हेर्ने अधिकृत र मन्त्रालयको समेत लेखा अधिकृत बसेर स्रेस्ता खोज्ने भएका छौँ । स्रेस्ता फेला परेपछि बेरुजु फछ्र्र्यौट हुन्छ ।’ मन्त्रालयका अनुसार समितिहरूतर्फ पशुपति विकास कोषको ७० करोड बेरुजु फर्छ्यौट भएको छैन ।
जलहरीमा भएको भ्रष्टाचार प्रकरणमा सार्वजनिक लेखा समितिले समेत छानबिन गरेको र टुङ्गो नलागेका कारण फर्छ्यौट हुन नसकेको जानकारी तामाङले दिए । उनका अनुसार एउटा कामको प्रयोजनका लागि पठाइएको बजेट जलहरीमा प्रयोग भएको थियो । केही समितिहरू स्थानीय तह र प्रदेश मन्त्रालयमा हस्तान्तरण भएकाले सकल स्रेस्ताहरू सम्बन्धित स्थानीय तह र मन्त्रालयमा रहेकाले ४ करोड ६४ लाख रुपैयाँ फर्छ्यौट हुन नसकेको मन्त्रालयले जनाएको छ ।
नेपालमा ३० वटा क्यासिनो छन् । त्यसमध्ये १८ वटाको मात्रै नवीकरण भएको छ । पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढाका अनुसार तीनवटा थप नवीकरणको लागि मन्त्रालयमा पत्र पठाइएको छ ।