Trending :
 

राखेपको आयोजनामा प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता सुरु

माघ २२,२०८०

-आस्था न्यूज

माघ २२, २०८० काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । 
 
राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले विभिन्न १० विश्वविद्यालयका २ सय ८० खेलाडी सहभागी हुने प्रतियोगिताले अगामि वर्षहरुमा समेत नजिरको रुपमा स्थापित गर्ने बताए । 
 
प्रतियोगीताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेपालको लामो खेलकुद जगतभित्र पनि यो पहिलो विश्वविद्यालय प्रतियोगिता भएकाले यस प्रतियोगिताले राखेप र विद्यालयहरुको सम्बन्धको जग बलियो बनाएको बताए । 
 
उनले भने, नेपालको खेलकुद क्षेत्रमा विगत जसरी गुजर्यो, त्यसको जिम्मेवार आजको खेलकुद जिम्मेवारी होइन,  आजको खेलकुद त भविष्यको सम्भावनाको नजिरको रुपमा स्थापना हुन सक्नेछ । यस प्रतियोगिताले विश्वविद्यालय र रापेखबीचको सम्बन्ध, यस प्रतियोगिताले विश्वविद्यालय र डाक्टर र इन्जीनियरको कारखाना मात्र होइन खेलाडीहरुको समेत कारखाना छ भनेर प्रमाणित गर्न सक्नेछ ।’
 
निकट भविष्यमा समेत यस्तै प्रतियोगिताहरुको आयोजना गदै नेपाल खेलकुद परिषद् खेल विकासका लागि प्रतिवद्ध रहेको कोइरालाको भनाई थियो । 
 
त्यस्तै, कार्यक्रममा राखेपका निमित्त सदस्य सचिव प्रकास कुसारीले विश्वविद्यालय खेलकुद प्रतियोगिता विद्यालयस्तरीय प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्डको निरन्तरता भएको बताए । 
 
खेलकुदलाई विश्वविद्यालयमा प्रवेश गराउने अवसरको रुपमा यस अवसरलाई लिएको उनको भनाइ थियो । 
 
उनले भने, ‘ हामीले खेलकुदका क्षेत्रमा यस प्रतियोगितालाई अवसरका रुपमा लिएका छौं । आउँदा वर्षहरुमा यस प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी बनाउने छौं । खेलकुदलाई शिक्षा क्षेत्रमा प्रवेश गरेका छौं, यो नयाँ सुरुआत हो ।’
खेलाडीहरु शिक्षित पनि हुन्छन् भन्ने स्थापित गर्न यस प्रतियोगिताको आयोजना गरेको उनको भनाई थियो । 
 
प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी ४ खेलको प्रतिस्पर्धा हुनेछ । भलिबलमा छात्र टोलीको मात्र सहभागिता रहने छ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र र भलिबल जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा खेलाइने छ ।