Trending :
 

देश गठबन्धनको बन्दी बनेको एमाले नेताको आरोप

माघ २२,२०८०

-आस्था न्यूज

माघ २२, २०८० काठमाडौं ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले देश गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन् ।
 
प्रेस चौतरी मोरङले २६औँ स्थापना दिवस अवसरमा सोमबार विराटनगरमा आयोजना गरेको कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले देशको राजनीति गठबन्धनले कब्जा गरेको बताए ।
 
गठबन्धनका कारण देश अस्तव्यस्त र उकुसमुकुस भएको भन्दै नेता गौतमले सरकारले सुशासनका नाममा विभिन्न खाले सम्झौता गरिरहेको समेत बताए ।
 
‘देश ठूलो आर्थिक संकटमा छ’ उनले भने, ‘आर्थिक अवस्था धरासायी छ । विकास निर्माणका काम ठप्प छन् । कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्था छ ।’
 
उनले नयाँ आएका दलहरुबाट पनि परिवर्तन सम्भव नभएको बताए । जनताले केही गर्छ कि भनेर विश्वास गरेका रवि लामिछाने काण्डैकाण्डमा फसेको उनले बताए ।
 
कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव बिक्रम लुईटेलले पत्रकारहरुलाई काममा प्रतिवद्ध हुन सुझाव दिए । पछिल्लो समय पत्रकारिता क्षेत्रमा समाचार लेख्नेभन्दा पनि नेतागिरी गर्नेको संख्या बढिरहेको बताउँदै लुईटेलले श्रमजिवी पत्रकारहरु जागरुक भएर अघि बढ्नुपर्ने बताए ।