Trending :
 

मेलम्चीको दीर्घकालीन समाधानका लागि डीपीआर बन्छः खानेपानी मन्त्री

माघ २२,२०८०

-आस्था न्यूज

माघ २२, २०८० काठमाडौं । 
खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्रराय यादवले मेलम्ची खानेपानी आयोजनाको समस्याको दीर्घकालीन समाधानका लागि सरकारले डीपीआर बनाउन छलफल अगाडि बढाएको बताएका छन् । 
 
सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग उनले डीपीआर बनाइने बताए । गत वर्षको बाढीले आयोजनामा ठूलो क्षति पु¥याएको थियो । आयोजनाको उक्त समस्याको स्थायी समाधानका लागि मन्त्रालयले पुल्चोक क्याम्पसलाई तीन हप्तामा अनुसन्धान गरि प्रतिवेदन बुझाउन आग्रह गरेको जानकारी उनले दिए ।
 
क्याम्पसले अनुसन्धान प्रतिवेदन बुझाएपछि सम्बन्धित निकायहरुसँग छलफल गरि संरचना सार्नुपर्ने उनको भनाइ छ । 
 
उनले भने, ‘मेलम्ची खानेपानीका लागि स्थापनाकालमा जुन इन्टेक बन्यो, त्यो इन्टेक दुई वर्षअघिको बाढीले ठूलो क्षति गरिदिएको छ । आयोजनाका संरचनाहरु ४५ फिट तल गएका छन् । प्रति साल पुर्ने काम गर्नुपर्ने हुन्छ । त्यसका लागि डीपीआरको लागि तयारी गरिरहेका छौं ।’
 
पुनःनिर्माणको काम गर्दा आयोजनाको पानी वर्षमा तीन महिना असार, साउन र भदौमा अवरुद्ध हुने मन्त्री यादवको भनाइ छ । 
 
जलवायु परिवर्तन र प्राकृतिक प्रकोपका कारण मेलम्ची आयोजनामा ठूलो क्षति भएको भन्दै उनले सरकार यस आयोजनामा गम्भीर भएर लागेको बताए । 
 
मुलुकमा जलस्रोत पर्याप्त भए पनि जलवायु परिवर्तनका कारण खानेपानीको चरम संकट आउनसक्ने भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।