Trending :
 

जनताप्रति उत्तरदायी भएर कानून बनाउन रास्वपा तयारः रवि लामिछाने

माघ २२,२०८०

-आस्था न्यूज

माघ २२, २०८० काठमाडौं । 
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताप्रति उत्तरदायी भएर कानुन बनाउन आफ्नो पार्टी पूर्ण तयारीका साथ यसपालीको सदनमा आएको बताएका छन् । 
 
प्रतिनिधि सभाको सोमबारको बैठकपश्चात उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । विधेयकहरुमा सरकारले ध्यान दिएन भने जिम्मेवार दलका तर्फबाट गर्नुपर्ने कामको तयारीका साथ आएको उनले बताए । 
 
उनले भने, ‘ध्यान दिनुपर्ने विधेयकहरुमा सरकारले ध्यान दिएन भने प्राइभेट बिल समेत ल्याएर गर्नुपर्ने सम्पूर्ण कार्यहरुका लागि हामी काम गरिरहेका छौ । यसपटकको सदनलाई प्रभावकारी बनाउनको लागि जिम्मेवार राजनीतिक दलका तर्फबाट हामीले गर्नुपर्ने कामको तयारीका साथ आएका छौं ।’ 
 
उनले जनताप्रति उत्तरदायी सदन भएको भन्दै यसलाई सत्ता टिकाउने र सरकारलाई जोगाउने जस्तो कामका लागि प्रयोग गर्न नहुने बताए । 
 
उनले भने, ‘सरकारले अघिल्लो अधिवेशनमा जस्ता बिजनेस नदिने काम नगरोस्, जनताप्रति उत्तरदायी सदन भएको हुनाले जनतासँग मात्र सम्बन्धित रहोस् । यसलाई सत्ता टिकाउने, सरकारलाई जोगाउने जस्तो कामका लागि लागि होइन ।’ 
 
अति आवश्यक कानुनहरु बनाउनुपर्ने प्राथमिकता रहेको बताएका उनले संविधान कार्यान्वयनको सिलसिलामा हामीले ध्यान दिनुपर्ने भनाइ राखे ।