Trending :
 

रेमिट्यान्समा भएको उल्लेख्य वृद्धिले चालु खाता र शोधनान्तर बचत आशातित

पहिलो ६ महिनामा शोधनान्तर बचत २ खर्ब ७३ अर्ब ५२ करोड पुग्यो:

माघ २३,२०८०

-आस्था न्यूज

माघ २३, २०८० काठमाडौं ।
आयात संकुचनसँगै ओरालो लागेको व्यापार घाटा र रेमिट्यान्समा भएको उल्लेख्य वृद्धिले चालु खाता र शोधनान्तर बचत आशातित बढेको छ ।
 
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शोधनान्तर बचत २ खर्ब ७३ अर्ब ५२ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
 
राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकका आधारमा आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदन सार्वजनिक गर्दै वाह्य क्षेत्र थप बलियो बन्दै गएको देखाएको छ ।
 
गत आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा ९२ अर्ब १५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव ६ महिनामा ३ खर्ब नजिक पुगेको हो ।
 
शोधनान्तर बचत मात्रै नभएर चालु खाता बचत पनि डेढ खर्ब नाघेको छ । चालु आव पुस मसान्तसम्म चालु खाता १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब ५७ करोडले घाटामा थियो ।
 
यस्तै चालु आव पुस मसान्तसम्म पूँजीगत ट्रान्सफर ३० प्रतिशतले कमी आई ३ अर्ब ११ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५३ करोडले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ ।
 
गत आव सोही अवधिमा पूँजीगत ट्रान्सफर ४ अर्ब ४३ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाखले धनात्मक थियो ।