Trending :
 

धुलिखेल-खावा सडक खण्ड विस्तारको काम सुस्त भएपछि ठेक्का तोड्ने सरकारको तयारी

माघ २३,२०८०

-आस्था न्यूज

माघ २३, २०८० काठमाडौं ।
अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल-खावा सडक खण्ड विस्तारको काम सुस्त भएपछि सरकारले ठेक्का तोड्न प्रक्रिया अघि बढाएको छ । चार किलोमिटर लामो धुलिखेल–खावा सडक खण्ड विस्तारको काम सम्झौताको झन्डै दुई महिना समय बाँकी रहँदा सरकारले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो ।
 
सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिनामा सडक खण्ड विस्तार एवम् स्तरोन्नतिको काम सक्ने गरी २०७९ साल जेठ २० गते सम्झौता भएको थियो । तर कम्पनीले सम्झौताअनुसार काम नगरेर अलपत्र पारेपछि ठेक्का तोड्न लागेको कार्यालयले जनाएको छ । पटक-पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि निर्माणको काम बीचमा छाडेर कम्पनी सम्पर्कविहीन भएको कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।
 
कम्पनीले आउँदो चैत १९ गतेसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । व्यवसायीसँग २० करोड १९ लाख ४६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा कार्यालयले ठेक्का तोडेर कार्यसम्पादन जमानतबापतको रकमसमेत जफत गर्ने योजना बनाएको छ । साथै बाँकी काम सम्पन्न गर्न लाग्ने लागतसमेत यसै निर्माण कम्पनीबाट असुल गर्ने कार्यालयले जनाएको छ । रासस