Trending :
 

संघमा १२ वटा मन्त्रालय मात्रै राख्न एमाले उपमहासचिव गुरुङको प्रस्ताव

माघ २३,२०८०

-आस्था न्यूज

माघ २३, २०८० काठमाडौं ।
नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघमा १२ वटा मात्रै मन्त्रालय हुनुपर्ने प्रस्ताव गरेका छन् । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गुरुङले संघमा १२ र प्रदेशमा ७ वटा मात्रै मन्त्रालय भए पुग्ने धारणा राखेका हुन् । 
 
संघीयतामा खर्च धेरै भयो भन्ने आलोचनाबाट बच्न पनि संघमा रहेको २५ वटा मन्त्रालय कटौती गरेर १२ वटामा झार्नुपर्ने उनको तर्क थियो । मंगलबार काठमाडौँमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उपमहासचिव गुरुङले संघीय सरकार मातहतका विभागहरू कटौती गर्न र जिल्ला समन्वय समिति हटाउनुपर्ने समेत बताए । 
 
प्रदेश र स्थानीय सरकारले संघीय सरकारले गर्ने काम पनि गर्ने भएकाले त्यहाँका विभागहरू हटाएर त्यहाँ कार्यरत कर्मचारीहरू तत्काल प्रदेश र स्थानीय तहमा व्यवस्थापन गर्न सके संघीयता कामकाजी हुने दाबी समेत गरे । उनले संघीयतामा धेरै काम भए पनि त्यसको प्रचार हुन नसकेको पनि बताए ।