काठमाडौं महानगरद्वारा कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्न सुरु
-आस्था न्यूज
माघ २४, २०८० काठमाडौं ।
काठमाडौं महानगरपालिकाले मंगलबारदेखि स्रोतमै फोहोर वर्गीकरणको अभियान सुरु गरेको छ । यसका लागि महानगरले वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न रङ संकेतसहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने गरी गाडीको व्यवस्था गरिएको हो ।
‘फोहोर वर्गीकरण अभियान पटक-पटक लागू गर्न खोज्दा पनि तयारी अभावले कार्यान्वयनमा आउन सकेको थिएन,’ महानगरअन्तर्गत वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भने, ‘अब भने अभियानकै रूपमा स्रोतमै वर्गीकरण भएको फोहोर संकलन गर्न संकेतसहितको गाडी पठाउन लागेका हौँ ।’ उनका अनुसार ३.५ क्युबिक मिटर क्षमताका गाडीको बीचबाट दुई खण्ड बनाइएको छ । दुवै खण्ड (कोठा) १.५ क्युबिक मिटर क्षमताका छन् । ती कोठाको पछाडि र बीचमा दुईवटा ढोका छन् । यसमध्ये बीचमा राखिएको ढोकाबाट फोहोर संकलन गरिन्छ ।
बाहिरबाट हेर्दा गाडी दुई रङको देखिन्छ । कुहिने फोहोर संकलन गरिने कोठातिर हरियो छ । नकुहिने तथा अन्य फोहोर संकलन गरिने कोठातिर नीलो रङ लगाइएको छ । श्रेष्ठका अनुसार कुहिने फोहोर संकलन हुने कोठामा करिब एक हजार पाँच सय किलो फोहोर संकलन गर्न सकिन्छ । नकुहिने फोहोरको आकार ठूलो देखिए पनि तौल कम हुन सक्छ । त्यसैले यसमा चाहिँ सामानको प्रकृति हेरेर मात्र तौल अनुमान गर्न सकिन्छ ।