उपत्यकाको सबैभन्दा ठुलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
-आस्था न्यूज
माघ २४, २०८० काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०/१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ । त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरूको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने मातातीर्थ २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो ।
सबस्टेसनको क्षमता ३२० एमभिए छ । काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठुलो सबस्टेसन हब बनेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातातीर्थ सबस्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणहरूको सफलतापूर्वक परीक्षण गरिएको बताए ।
‘मातातीर्थ सबस्टेसनलाई २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याउन २२० केभीका त्रिशूली ३ बी हब या मार्कीचोक सबस्टेसन बन्नुपर्ने छ, मार्कीचोक सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ,’ उनले भने, ‘त्रिशूली ३ बी हब आगामी चैतको दोस्रो साताभित्र चार्ज गर्ने गरी काम भइरहेको छ । उक्त सबस्टेसन सञ्चालनमा आएपछि मातातीर्थ सबस्टेसन २२० केभीमा चार्ज गरिने छ ।’
मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । उक्त प्रसारण लाइनलाई २०७९ को असारबाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । आयोजनाअन्तर्गत नै मार्कीचोकमा २२०र१३२ केभी सबस्टेसन निर्माणाधीन छ ।
त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरूको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी १३२ केभीमा सञ्चालनमा ल्याइएको छ । मर्स्याङ्दी–काठमाडौँ र त्रिशूली–काठमाडौँ प्रसारण लाइनलाई बाड भञ्ज्याङमा एक आवासमा आबद्ध गरी मल्टिसर्किट लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ ।
प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानले मर्स्याङ्दी र त्रिशूलीबाट काठमाडौँ उपत्यकामा भित्रिएको विद्युत्लाई मातातीर्थ सबस्टेसनबाट १३२ केभीमार्फत स्युचाटार, चोभारलगायतका क्षेत्र र स्थानीय रुपमा आपूर्ति हुने बताए । उपकार्यकारी निर्देशक प्रधानले मातातीर्थबाट विद्युत्लाई १३२ केभी प्रसारण लाइामार्फत हेटौंडातर्फसमेत प्रवाह गर्न सकिने बताए ।
प्राधिकरणले चोभारमा १३२ केभीको सबस्टेनको निर्माण गरिरहेको छ । मातातीर्थबाट चोभारसम्मको १३२ केभी निर्माण सम्पन्न भइसकेको छ । चोभारबाट ललितपुरको पाटनसम्म १३२ केभी भूमिगत प्रसारण लाइन र पाटनमा १३२ केभी सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको कार्यकारी निर्देशक प्रधानले उल्लेख गरे ।