Trending :
 

सरकारले विकास निर्माणका कामहरू अवरुद्ध गर्न खोजेको सांसद अमरेशकुमार सिंहको आरोप

माघ २४,२०८०

-आस्था न्यूज

माघ २४, २०८० काठमाडौं ।
सांसद अमरेशकुमार सिंहले सरकारले विकास निर्माणका कामहरू अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् ।
 
प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले विकासका कामहरू अर्थमन्त्री प्रकाशशरण महत, शेरबहादुर देउवा र पुष्पकमल दाहालको निर्वाचन क्षेत्र भएका जिल्लामा मात्रै भएको भन्दै बाँकी ७४ जिल्लालाई किन बेवास्ता गरिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई प्रश्न गरे ।
 
उनले भने, ‘यो सरकारमा विकास निर्माण अवरुद्ध गर्न नै खोजिएको हो । गत आर्थिक वर्षमा काम गरेको निर्माण व्यवसायीको भुक्तानी भएको छैन, नयाँ काम सुरु भएको छैन । काम सुरु भएको छ जम्मा तीन जिल्लामा, अर्थमन्त्रीको जिल्ला नुवाकोट, सत्ता गठबन्धनको जिल्ला डडेलधुरा र अर्को चितवन बाँकी ७४ जिल्लामा विकास निर्माण हुनुहुँदैन? भौतिक पूर्वाधार मन्त्री यहीँ हुनुहुन्छ, सोध्न चाहन्छु ।’
 
यस्तै, उनले ठेक्का लागिसकेको योजनामा पनि काम नभएको भन्दै यो देश तीन जिल्लाको मात्रै नभएको बताए । 
 
उनले भने, ‘ठेक्का लागिसकेको छ, त्यसमा काम किन नहुने? यो तीन जिल्लाको मात्रै यो देश हो वा तीन जनाको मात्रै यो देश हो? किनभने अहिले पनि २ खर्बभन्दा बढीको नुवाकोटमा, गोरखा, चितवनमा आयोजना स्वीकृत भएको छ ।’