Trending :
 

सहकारीमा २५ लाखभन्दा बढी रकम जम्मा गर्न नपाउने प्रस्ताव सांसदहरुद्वारा अस्वीकार

माघ २४,२०८०

-आस्था न्यूज

माघ २४, २०८० काठमाडौं ।
कुनै पनि व्यक्तिले सहकारीमा २५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्न नपाउने गरी सहकारी ऐनमा संशोधन गर्न सरकारले गरेको प्रस्‍ताव प्रतिनिधि सभाले अस्वीकार गरेको छ।
 
कानुन न्याय तथा मानव अधिकार समितिले रकम जम्मा गर्ने सीमाको व्यवस्था हटाएको थियो। 
 
सरकारले सहकारी ऐन २०७४ को दफा ५२ मा संशोधन गर्दै व्यक्तिगत बचतको सीमा पच्चीस लाख रुपैयाँ राख्न प्रस्ताव गरेको थियो। साथै अहिले २५ लाखभन्दा बढी रकम सहकारीमा बचत गरिरहेका व्यक्तिहरूले पाँच वर्षभित्र सीमाभित्र रकम ल्याउनुपर्ने व्यवस्था राख्न प्रस्ताव गरेको थियो। तर संसदीय समितिले उक्त सीमा राख्ने व्यवस्था हटाएर प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेको थियो। 
 
सरकारले प्रतिनिधि सभामा सम्पत्ती शुद्धिकरण निवारण सम्बन्धमा २० वटा कानुनमा एक साथ संशोधन गर्ने गरि सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्नेु  विधेयक ल्याएको थियो। उक्त विधेयक मार्फत् सरकारले सहकारी ऐनमा पनि संशोधनको प्रस्ताव ल्याएको थियो। समितिले विधेयक माथि छलफल गरी पेस गरेको प्रतिवेदनलाई प्रतिनिधि सभाले बहुमतले पारित गरेको हो।  
 
राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूले विधेयकको विपक्षमा मत दिएका थिए। 
 
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले व्यक्तिगत बचतको सीमा पच्चीस लाख राख्ने प्रावधान समितिले गायब गरेकोमा प्रतिनिधि सभा बैठकमै असन्तुष्टि व्यक्त गरेका छन्।