संसद् विकास कोष ब्युँताउने भ्याकेट निवेदनको जानकारी रिट निवेदकलाई दिन आदेश
-आस्था न्यूज
माघ २४, २०८० काठमाडौं ।
संसद् विकास कोष ब्युँताउन सर्वोच्च अदालतमा दर्ता भएको भ्याकेट निवेदनबारे रिट निवेदकलाई जानकारी दिन सर्वोच्चले आदेश दिएको छ । बुधवारको संवैधानिक इजलासले भ्याकेट निवेदन परेको बारे रिट निवेदन त्रिलोक बहादुर चन्द लगायतलाइ जानकारी दिन आदेश भएको हो ।
संघीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा बजेट विनियोजन नगर्न यसअघि सर्वोच्च अदालतमा अधिवक्ता त्रिलोक बहादुर चन्द लगायतले रिट निवेदन दर्ता गराएका थिए । सोही रिट निवेदनमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न संघीय संसद सचिवालय र सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
तर सर्वोच्चका उक्त अन्तरिम आदेश खारेजीको माग गर्दै संघीय संसद् सचिवालयले गत माघ १५ गते सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गराएको थियो । सो निवेदनमाथि बुधवार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो ।
सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश खारेजीको माग गरी भ्याकेट निवेदन परेको सम्बन्धमा रिट निवेदक चन्द लगायतलाइ जानकारी दिन आदेश जारी गरेको हो ।