Trending :
 

ट्राफिक निगरानीका लागि काठमाण्डौमा एआई फिचरका सीसीटीभी क्यामेरा जडान

माघ २४,२०८०

-आस्था न्यूज

माघ २४, २०८० काठमाडौं ।
काठमाण्डौ महानगरपालिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फिचरका सीसीटीभी क्यामेरा जडान गरेको छ । नेपाल प्रहरीसँगको सहकार्यमा एआई फिचर भएका सीसीटीभी क्यामेरा जडान गरेको महानगरपालिकाले जानकारी गराएको हो ।
 
यी क्यामेराले घटनासँग सम्बन्धित व्यक्ति तथा वस्तुको पहिचान र तिनीहरू कता गए, कसरी गए भन्ने दृश्य उपलब्ध गराउने महानगरले जनाएको छ । यस्ता विशेषता भएका क्यामेरामध्ये तीन ठाउँमा गाडी र चालकसम्बन्धी दृश्य तथा विवरण दिने र १० ठाउँमा घटनासँग सम्बन्धित व्यक्तिका बारेमा विवरण र दृश्य दिने क्यामरा रहेका छन् ।
 
एआई फिचर भएका क्यामेराले गाडीको प्रकार, नम्बर प्लेट, रङ, गाडी गुडेको रुट, चालकको अनुहार पहिचान गर्छ । लेन क्रस, एकतर्फी बाटोमा प्रवेश, ट्राफिक नियम उलङ्घन गर्ने गाडी, अनधिकृत ठाउँको पार्किङ पहिचान र सङ्केत पनि क्यामेराले गर्ने महानगरले जनाएको छ । कुनै व्यक्तिलाई खोज्नु पर्‍यो भने यसले व्यक्ति हिँडेको वा पुगेको ठाउँ देखाउँछ । यस्ता प्रणालीले सहरी आवागमन नियन्त्रण गर्न, अपराध नियन्त्रण गर्न, हराएका व्यक्ति पत्ता लगाउन, भागेका गाडी खोज्न तथा सवारी व्यवस्थापनमा निगरानी गर्न सहज हुने प्रहरीले जनाएको छ ।