शान्ति मिसनमा धेरै सुरक्षाकर्मी पठाउने सूचीमा नेपाल पहिलो
-आस्था न्यूज
माघ २५, २०८० काठमाडौं ।
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा सहभागिता जनाउन थालेको ६५ वर्षमा नेपाल सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने सूचीमा पहिलो भएको छ । संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांकअनुसार दोस्रो स्थानबाट नेपाल पहिलो स्थानमा उक्लेको हो ।
राष्ट्रसंघीय तथ्यांकअनुसार नेपाली सुरक्षाकमीको संख्या ६ हजार दुई सय ४७ छ । यो विभिन्न मिसनमा हाल परिचालित सैनिक, प्रहरी र सशस्त्र प्रहरीको संख्या हो ।
‘संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा सबैभन्दा धेरै सैनिक र प्रहरीसहित सुरक्षाकर्मी पठाउने देशको सूचीमा नेपाल पहिलो भएको छ,’ नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले भने, ‘अहिले संख्यामा केही तल–माथि परेको हुन सक्छ, तर नेपालको संख्या पहिलो छ ।’
धेरै सुरक्षाकर्मी पठाउने सूचीमा बंगलादेश दोस्रो र भारत तेस्रो छ । सुरक्षाकर्मीको संख्या बंगलादेशको ६ हजार एक सय ९७ र भारतको ६ हजार ७३ छ । त्यस्तै, रुवान्डा चौथो र पाकिस्तान पाँचौँ स्थानमा छन् । दक्षिण एसियाली मुलुकहरू सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने मुलुकको सूचीमा अग्रपंक्तिमा देखिएका छन् ।