काठमाडौं महानगरभित्रका अस्पतालमा अब विपन्न, बेवारिसे र असहाय बिरामीलाई निःशुल्क उपचार

माघ २५,२०८०

-आस्था न्यूज

माघ २५, २०८० काठमाडौं ।
काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका ठूला निजी अस्पतालले अनिवार्य १० प्रतिशत शय्या विपन्न, बेवारिसे र असहाय बिरामीका लागि निःशुल्क छुट्याउनुपर्ने नियम बनाएको छ । 
 
महानगरपालिकाले १ फागुनदेखि लागू हुने गरी १० प्रतिशत निःशुल्क शय्या कार्यान्वयनमा ल्याउँदै छ, यसका लागि उसले कार्यविधिसमेत पारित गरिसकेको छ । यसअन्तर्गत भर्ना भएका बिरामीले सम्पूर्ण उपचार निःशुल्क पाउनेछन् । 
 
कानुनतः १० प्रतिशत शय्या निःशुल्क गर्नुपर्ने प्रावधान भए पनि अस्पतालले अटेरी गर्दै विपन्न, बेवारिसे र असहाय बिरामीलाई उपचारबाट वञ्चित गर्दै आइरहेका थिए । अब भने महानगरपालिकाले महानगरभित्र रहेका महँगा अस्पतालले यो अनिवार्य लागू गर्नुपर्ने गरी कदम चालेको छ । 
 
यसैअनुसार महानगरले हालै मात्र निःशुल्क स्वास्थ्य उपचारसम्बन्धी कार्यविधि, २०८० पास गरेको छ । यही कानुनमा टेकेर लक्षित वर्गलाई दिनुपर्ने १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउन लागेको हो ।