Trending :
 

सुन तस्करी प्रकरणः पूर्वसभामुख महरा लगाएतसँग आयोगले लियो बयान

माघ २५,२०८०

-आस्था न्यूज

माघ २५, २०८० काठमाडौं ।
सुन तस्करी प्रकरणको छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ। 
 
अहिले आयोगको सिंहदरबारस्थित कार्यालयमा महराको बयान लिइएको आयोगका संयोजक आर्चायले बताए। 
 
यसअघि भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समेत महरासँग बयान लिएको थियो। असोज १५ गते साँझ महराको पौने सातदेखि साढे सात बजेसम्म ४५ मिनेट बयान लिइएको थियो। 
 
सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको फोन सम्पर्क देखिएकाले त्यतिबेला सीआईबीले महराको बयान लिएको थियो। 
 
चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग आफ्नो पुरानो चिनजान रहेको महराले सीआईबी समक्ष स्विकारेका थिए। वाङ्गले मलाई आफू एउटा फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनी चिनाएकाले त्यही रुपमा लिएर विमानस्थलको तत्कालीन भन्सार प्रमुख अरुण पोखरेललाई फोन गरेको भन्दै सुन तस्करीवारे जानकारी नै नभएको दाबी गर्दै बयान दिएका थिए।
 
यता सोही भेपमार्फत भएको ९ किलो सुन तस्करीमा भने महराका छोरा राहुललाई पक्राउ गरेर सीआईबीले मुद्दा चलाएको थियो। उनी अहिले पुर्पक्षका लागि कारागारमा छन्। उनै राहुलसँग यसअघि नै आयोगले बयान लिइसकेको छ।
 
यसैगरी आयोगले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ। 
 
आयोगले सिंहदरबारस्थित कार्यालयमा बोलाएर भण्डारीसँग बयान लिएको हो। राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन तस्करी प्रकरणमा मुछिएका भण्डारीसँग यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि बयान लिएको थियो।
 
६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क भएको देखिएपछि भण्डारी पनि बयानमा तानिएका हुन्। 
 
आयोगले सुन तस्करी प्रकरणमा जोडिएका व्यक्ति तथा अनुसन्धानमा खटिएका प्रहरी अधिकृतसँग समेत बयान लिइसकेको थियो।  छानबिन आयोगले धमाधम सुन तस्करीमा अनुसन्धान गरेका, तस्करीमा कनेक्सन देखिएका र संलग्न अन्य व्यक्तिहरुको बयान लिन थालेको छ।