विमानस्थलमा कुटपिटमा संलग्न रहेका भनिएका २ जना प्रहरी कर्मचारी पुरस्कृत
-आस्था न्यूज
माघ २६, २०८० काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतमाथि भएको कुटपिटमा संलग्न रहेका भनिएका २ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। घटनाको सत्यतथ्य जाँचबुझका लागि गठित समितिले उनीहरुलाई कारबाहीको सिफारिस गरेको थियो।
गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले कारबाही सिफारिस गरेका २ जना प्रहरी कर्मचारीलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले पुरस्कृत गरेका हुन्।
विमानस्थल स्रोतका अनुसार चन्दले प्रहरी नायव निरीक्षक (सई) प्रकाश चौधरी, सहायक निरीक्षक (असई) सन्जय तामाङ र जवान रविजंग गुप्तालाई पुरस्तृत गरेका हुन्। स्रोतका अनुसार चौधरीलाई १ हजार २००, तामाङलाई १ हजार १०० र गुप्तालाई ८०० रुपैयाँसहित पुरस्कृत गरिएको छ। उक्त पुरस्कारको विवरण अभिलेखमा जनिने गरी राष्ट्रिय प्रहरी किताब खानामा समेत पठाइएको छ।
यता सहसचिव गौतम नेतृत्वको समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटपिट घटनामा डीएसपीसहित ४ प्रहरीलाई कारबाहीका लागि सिफारस गरेको थियो।
कारबाहीका सिफारिस हुनेहरुमा डीएसपी रेवतीरमण पोखरेल, असई सञ्जय तामाङ, प्रहरी जवान रविरन्जन गुप्ता र अर्का प्रहरी जवान राजकुमार महतो थिए। कारबाही सिफारिसमा परेका मध्ये २ सहित ३ जनालाई डीआईजी चन्दले पुरस्कार दिएका हुन्।