फागुन १ गतेदेखि विराटनगर महानगरमा कोभिड-१९ को फाइजर खोप लगाइने

माघ २६,२०८०

-आस्था न्यूज

माघ २६, २०८० काठमाडौं ।
विराटनगर महानगरपालिका क्षेत्रभित्र आगामी फागुन १ गतेदेखि कोभिड-१९ को फाइजर खोप लगाइने भएको छ । 
 
छिमेकी मुलुक भारतमा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेपछि जोखिम बढेको भन्दै महानगरले फागुन १ देखि ३ गतेसम्म ५० वर्षमाथिका उमेर समूहका व्यक्तिलाई खोप लगाउने भएको हो । 
 
दुईवटा खोप लगाइसकेका र खोप कार्ड भएका ५० वर्ष उमेर कटेकालाई खोप लगाइने महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिए ।
 
कोभिडको जोखिम बाँकी नै रहेकाले खोप लगाउने तयारी गरिएको उनको भनाइ छ । 
 
महानगरअन्तर्गतका स्वास्थ्य चौकी र केन्द्रबाट फाइजर खोप लगाइनेछ । स्वास्थ्य मन्त्रालयबाट मोरङका लागि प्राप्त १० हजार खोपमध्ये ६ हजार फाइजर खोप विराटनगर महानगरलाई उपलब्ध गराइएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । 
 
जनघनत्व बढी भएका कारण विराटनगरमा ६ हजार डोज खोप उपलब्ध गराइएको मेहताले बताए ।
 
महानगरका सबै स्वास्थ्य चौकीबाट पहिलो चरणमा ५० वर्ष उमेर नाघेका र यसअघि दुईवटा खोप लगाइसकेका व्यक्तिहरुलाई फाइजर खोप लगाइने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए । 
 
यसैबीच, फागुन १३ देखि २२ गतेसम्म दादुरा–रुवेलाको खोप पनि लगाइने भएको छ । महानगरका खोप अधिकृत अमरदीप देवका अनुसार ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाउने तयारी भएको छ । 
 
बालबालिकाहरुलाई विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको देवले जानकारी दिए । खोपका विषयमा महानगरले शुक्रबार सरोकारवालासित छलफलसमेत गरेको छ । 
 
छलफलमा महानगरका प्रवक्ता सन्तोष न्यौपाने, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरे, १३ का सूर्यलाल यादवसहित विभिन्न वडाका अध्यक्ष, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार तथा योजना महाशाखा प्रमुख अर्जुन थापा, कानुन शाखा प्रमुख शारदा थपलिया, स्वास्थ्य महाशाखाका दिलीप यादवलगायतको उपस्थिति थियो ।