बजेट अभावले रोकियो विक्कीको फिल्म ‘अश्वत्थामा’

माघ २६,२०८०

-आस्था न्यूज

माघ २६, २०८० मुम्बई  ।
अभिनेता विक्की कौशललाई ‘उरीः द सर्जिकल स्ट्राइक’ जस्ता ब्लकबस्टर फिल्म दिइसकेका आदित्य धर विक्कीसँग एक सुपरहिरो फिल्म ‘अश्वत्थामा’ बनाउने तयारीमा थिए । यो प्रोजेक्टलाई लिएर भारतीय फिल्मका फ्यानहरु सुरुदेखि नै उत्साहित थिए ।
 
सन् २०१९ मा महाभारतका पात्र अश्वत्थामामा आधारित रहेर निर्माण गर्ने भनिएको यो फिल्मका लागि विक्कीले घोडसवारी र मार्सल आर्ट जस्ता तालिम पनि लिन सुरु गरेका थिए । 
 
तर लकडाउनका कारण यो फिल्म सुरु हुन सकेन । सन् २०१२ मा विक्कीले ‘द इमोर्टल अश्वत्थामा’को पहिलो पोस्टर निकै उत्साहका साथ सामाजिक सञ्जालमा शेयर गरेका थिए । तर यो फिल्म अगाडि बढ्न सकेन ।
अहिले भने निर्देशक आदित्यले फिल्म नबन्नुको कारण खुलाएका छन् । उनका अनुसार फिल्मका लागि अधिक बजेट आवश्यक पर्ने भएपछि फिल्मको काम रोकिएको हो ।
 
आफ्नो नयाँ फिल्म ‘आर्टिकल ३७०’को ट्रेलर सार्वजनिक कार्यक्रममा आदित्यले ‘अश्वत्थामा’ तत्काल नबन्ने बताएका छन् । ‘हामीले तत्कालका लागि यो फिल्मलाई बन्द गर्नुपर्ने अवस्था छ । म सत्य कुरा बताउँछु, कि यो फिल्मका लागि हाम्रो ठूलो भिजन थियो, त्यो भिजन भारतीय फिल्ममा चलिएको बजेटभन्दा ठूलो थियो । हामी जस्तो भीएफएक्स गुणस्तर चाहि रहेका थियौं, यस्तो गुणस्तरमा अहिलेसम्म कसैले बनाउने प्रयास गरेका थिएनन्’, उनले भनेका छन् ।
 
उनले आफ्नो भिजनलाई लिएर हलिउडका प्रख्यात निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतार’को उदाहरण दिएका छन् । 
 
‘जेम्स क्यामरुनलाई ‘अवतार’को सोच २७ वर्ष अघि आएको थियो, तर उनी ठूलो बजारको पर्खाइमा थिए । प्रविधि त्यो तहसम्म आउने उनी पर्खाइमा थिए, जहाँ त्यो कथालाई आफूलाई चाहे अनुसारको प्रस्तुत गर्न सकुन् । म उनी जस्तो त छैन, तर मलाई उत्कृष्ट चाहिएको छ, त्यसकारण औसत हुँदा काम चल्दैन । म केवल मजाका लागि मात्र यो फिल्म बनाउन सक्दिनँ । यो फिल्मका लागि अझ पाँच वर्ष लागे पनि फिल्म उत्कृष्ट बन्नुपर्छ’, आदित्यले भनेका छन् ।
 
पछिल्लो तीन वर्षमा आदित्य यो फिल्ममा विक्कीको स्थानमा अन्य कलाकारलाई कास्ट गर्ने तयारीमा छन् भन्ने समाचार बाहिर आएको थियो । रणवीर सिंहदेखि अल्लू अर्जुनसम्मका स्टार यो फिल्ममा जोडिने चर्चा चलेको थियो ।