Trending :
 

पाकिस्तान निर्वाचन मतगणनाः इमरान खानको पार्टी मुस्लिम लिग भन्दा १२ सिटले अगाडी

माघ २६,२०८०

-आस्था न्यूज

माघ २६, २०८० काठमाडौं ।
 
पाकिस्तानको निर्वाचनमा इमरान खानको दल तेहरिक ए इन्साफ (पीटीआई) ले सैन्य सत्ता समर्थित दल पाकिस्तान मुस्लिम लिग पीएमएल (एन) लाई कडा चुनौती दिइरहेको छ । जारी मत गणनामा उसले नवाज शरिफको दललाई कडा चुनौती दिइरहेको हो ।
 
सार्वजनिक परिणाम अनुसार पीएमएल (एन) ले ४३ सिट ल्याउँदा इमरान खानको पार्टी पीटीआई समर्थित उम्मेदवारले ५५ सिट ल्याएको अलजजिराले देखाएको छ ।
 
पाकिस्तानमा मे ९ मा इमरान खानका समर्थकहरुले उनलाई प्रधानमन्त्रीबाट षड्यन्त्रपूर्वक हटाउँदै गिरफ्तार गरिएको भन्दै बृहत् प्रदर्शन गरेका थिए । 
 
त्यसबखत खानका समर्थकहरुले पहिलोपटक सैनिक हेडक्वाटरमा समेत आक्रमण गरेका थिए । त्यसपछि खान समर्थित ११ हजार कार्यकर्तालाई सैन्य सत्ताले गिरफ्तार गरेको थियो ।
 
त्यस पार्टीका प्रभावशाली नेताहरुलाई समेत गिरफ्तार गर्ने तयारी भएपछि धेरैले हिरासतबाट बच्नका निम्ति राजीनामा नै दिएका थिए । प्रधानमन्त्रीबाट हटाइएदेखि गिरफ्तार पर्दाका बखतसम्म खानले पाकिस्तानमा निर्वाचनको माग राख्दै आए ।
 
पाकिस्तानमा सन् २०२२ नोभेम्बरमै चुनावको तयारी भए पनि निर्वाचन आयोगले प्रक्रिया पूरा गर्न समय लाग्ने बताएपछि पटक पटक सरेको थियो । अन्ततस् हिजो फेब्रुअरी ८ मा चुनाव भयो ।
 
फेब्रुअरी ८ को चुनाव पनि पीटीआईका निम्ति कम्ता सकसपूर्ण भएन । पीटीआईका प्रमुख गोहार खान हिरासतभित्रै थिए । उनलाई चुनावमा उठ्न समेत प्रतिबन्ध थियो । दल दर्ताको समय आउँदै गर्दा खानको दलको चुनाव चिन्ह ब्याट खोसियो । अर्कोतर्फ प्रभावशाली नेताहरु जेलमा रहेको र केहीले राजीनामा दिएका कारण परीक्षण नै नभएका धेरै उम्मेदवारलाई मैदानमा पठाउन पीटीआई विवश थियो ।
 
प्रारम्भिक मत परिणामले खानको दल पनि उत्साहित भएको छ । उसले हार स्वीकार गर्न नवाज शरिफलाई चुनौती दिएको छ ।