Trending :
 

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई पदमुक्त गर्ने निर्णयबिरुद्द सर्वोच्चको अन्तरिम आदेश

माघ २६,२०८०

-आस्था न्यूज

माघ २६, २०८० काठमाडौं ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णयबिरुद्द सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ । बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले बिहीबार २५ माघमा दिएको रिटमा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
 
सर्वोच्च न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा अल्पकालिन अन्तरिम आदेश दिएको हो । साथै अन्तरिम अदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।
 
यो सँगै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको बलमिच्चाइलाई पुनः अदालतले रोकिएको छ । डा. बसौला पुनः बोर्डमा फकिने बाटो खुलेको छ । डा। बसौलाले ९ माघको क्याबिनेट बैठकले आफूलाई हटाउन गरेको निर्णय विरुद्ध बिहीबार सर्वोच्चमा रिट दिएका थिए ।
 
स्वास्थ्यमन्त्री बस्नेतले सर्वोच्च अदालतको आदेश विपरीत स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। बसौलालाई हटाउनका लागि २४ पुसमा हटाउनका लागि मन्त्रिपरिषद्मा पुनः सिफारिस गरेका थिए ।
 
सोही सिफारिस अनुसार डा. बसौलालाई ९ माघ मन्त्रिपरिषद्को बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो । यसअघि मन्त्री बस्नेतले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै ४ असोजको ११ बुँदे स्पष्टीकरण सोधेका थिए । कानुन विपरीत स्पष्टीकरण सोधेको भन्दै चर्को आलोचना भएपछि बस्नेतले मन्त्रिपरिषद्बाट २४ असोजमा स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।
 
उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै मन्त्रिपरिषद्ले डा। बसौलालाई तीन महिनाको लागि निलम्बन गरेको थियो । तर मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय विरुद्ध बसौला १७ कात्तिकमा सर्वोच्च अदालतमा गएका थिए ।