Trending :
 

हराएका १७ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

माघ २६,२०८०

-आस्था न्यूज

माघ २६, २०८० काठमाडौं ।
विभिन्न मितिमा हराएका १७ ओटा दुईपाङग्रे सवारी साधनको खोजी गरी ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धीत धनीलाई हस्तान्तरण गरेको छ । 
 
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रमकम बिच कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले १४ ओटा मोटरसाइकल र ३ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । 
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाका बौद्ध, माछापोखरी, कालोपुल, बाफल, कालिमाटी, दरबारमार्ग, सिंहदरबार, नारायणटार, कपन, गहनापोखरी, बालाजु, बुढानिलकष्ठ, चुनदेवी, फर्पिङ र नयाँबसपार्क लगायतका स्थानमा दुईपाङग्रे सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । 
 
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका २ सय ५२ ओटा सवारी साधन चालु आर्थिक वर्षको हाल सम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको जनाइएको छ । 
 
अवैध रुपमा नेपाल भित्रिएका १२ ओटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । 
 
चालु आर्थिक वर्षको हाल सम्म चोरीका २० ओटा २ पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न २४ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।